बाँकेमा थप ५१ सेनामा देखियो कोरोना

काठमाडाैं । बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिला नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकका ५१ जना जनामा कोरोना संक्रमन फेला परेको महासेनानी नकुल थापाले जानकारी दिए।

महासेनानी थापाका अनुसार हालसम्म उक्त शिक्षालयका ८१ जना जवानहरूमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमित सबै प्रशिक्षार्थीहरू रहेको थापाले बताए। दाङबाट आएका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा ती संक्रमितहरू फेला परेको थापाले जानकारी दिए।

कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना नेपाली सेनाका जवानहरूमा संक्रमण फेला परेको थियो। त्यस्तै, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा संक्रमण फेला परेको छ।

स्वास्थ्यकर्मीमाथिकाे दुर्व्यवहार बन्द नगरे अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउन सक्छ : डा. जोस भान्देलार

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलिएरले काेराेना संक्रमणकाे दाेष स्वास्थ्यकर्मीलाई लगाउन नहुने बताका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायबारे बुधबार कुरा गर्दै डा. भ्यानडिलिएरले काेही कसैकाे पनि आफूलाई काेराेना संक्रमण होस् भन्ने चाहाना नहुने भएकाले स्वास्थ्यकर्मीलाई दोष लगाउन नहुने बताए । आफू जोखिममा रहेर पनि नियमित रूपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने उनकाे भनाइ छ ।

विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनले बताए । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरू रोगको उपचारका लागि स्वास्थ्यर्मी नै चाहिन्छ।’

भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनले बताए । मास्कको प्रयोग गरेर र अरू व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ । नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन् ।

बुटवलका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि

बुटवल । रूपन्देहीकाे इलाका प्रहरी कार्यालय बुटवलमा रहेका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

१३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका थिए । थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको बताइएकाे छ ।

क्यानडा पठाईदिने भन्दै लाखाैं रूपैयाँ ठग्ने ३ जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने ३ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा आफुलाई प्रभावशाली व्यक्तिको भन्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर-९ घर भई हाल धापासी बस्ने ध्रुव थापा, सुर्खेत विरेन्द्रनगर -९ कै २४ बर्षीय सन्ध्या थापा र जिल्ला सुनसरी धरान-३ का ४६ बर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख विष्ट सुदूरपश्चिममा सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट सरुवा गरिएकाे छ  । उनको ठाउँमा प्रदेश नं १, आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका दामोदर रेग्मी आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा गरेको ६० जनाको सूचीमा उनी सरुवामा परेका हुन् । शासन महाशाखा प्रमुख विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय पठाइएको छ।

गाई काटेको आरोपमा एक जना पक्राउ

काठमाडौं । गाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बुढानिलकण्ठ नगरपालिका ११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेपछि महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीसीआर टेष्ट : नेगेटिभ आए होम आइसोलेन, पोजेटिभ आए के गर्ने?

काठमाडौं । सरकारले काेराेना संक्रमितकाे १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । बुधवारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० औं दिनमा पीसीआर टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेसनमा बस्ने गरी घर पठाउन निर्देशन दिएकाे छ ।

यस्तै पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राखेर १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्न निर्देशन गरिएकाे प्रवक्ता गाैतमले जानकारी दिए । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले चेतावनी दिएकाे छ ।

काठमाडाैं उपत्यकामा एकैदिन भेटिए यति धेरै कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

कोरोनाबाट एकैदिन ११ जनाकाे मृत्यु, मृतककाे संख्या १७५ पुग्यो

काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।

मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए ।

यसैगरी काठमाडौं उपत्यकामा थप ३०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको गौतमले बताए ।

थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

काठमाडौं । नेपालमा आज बुधवार थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा थप ८८५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।