क्वारेन्टाइनबाट घर पठाइएका १४ जनामा कोरोना पुष्टि
बझाङ — बाजुराको बुढीनन्दा नगरपालिकाको घटाल प्राथमिक विद्यालयको प्रांगणमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका ५१ जनालाई शनिबार बिदाइ गरियो । अध्यक्षको रोहवरमा वडा कार्यालयले तयार गरेको ‘एक सातासम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नेछौं’ भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै दिउँसो उनीहरू घर फर्किए ।
यसरी फर्किनेमा बुढीनन्दा नगरपालिकाको समाल गाउँका तारा लुहार र उनका भाइ पनि थिए । उनीहरू घर पुगे तर कागजमा भनेजस्तै होम क्वारेन्टाइनमा बसेनन् । छरछिमेकमा पुगे । ढोगभेट गरे । साना नानीहरूलाई काखमा लिएर सुमसुम्याए । यति गरिसक्दा रातको ८ बजिसकेको थियो । उनीहरू परिवारसँगै बसेर खाना खाइरहेका थिए । एक्कासि ताराको मोबाइलमा फोन आयो ।
‘हामी दुवैलाई कुनै पनि लक्षण थिएन । वर्षौंपछि घर आएकाले आफन्तकहाँ ढोगभेट गर्न गयौं,’ ताराले भने, ‘भाइलाई कोरोना पुष्टि भएको भन्दै फोन आएपछि छक्क परियो ।’
क्वारेन्टाइनबाट...




