खानेपानी योजनामा भ्रष्टचार गर्न अपनाइयाे नयाँ हतकण्डा

डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।

प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो । उपभोक्ताहरुको भेला नै नबोलाई कीत्र्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप लगाए । स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उहाँको भनाइ छ । उक्त समिति गएको जेठ १२ गतेका दिन गठन गरिएको पाइएको छ ।

विसं २०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ ।

उक्त खोपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताए।रु तीन लाख रकम रहेको उक्त खानेपानी योजनाको ७५ हजार पेस्की लिएर नयाँ बनेको समितिले काम अगाडि बढाएको छ । समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरे । उता सो वडाका वडाअध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभएको छ ।

अहिले काम रोकिएको र पेस्कीअनुसारको काम भए नभएको अनुगमन गर्ने र यदि काम भएको छैन भने समितिबाट असुलउपर गर्नेसमेत वडाध्यक्ष बोहराले बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले समिति नक्कली बनाएर पेस्की लिएको प्रमाणित भए काम रोकेर कारवाही गरिने बताउनुभयो । उहाँले आफूलाई अहिलेसम्म सो सम्बन्धमा कुनै जानकारी नआएको बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.