एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसका यात्रुहरूलाई ओरालेर गोली प्रहार गर्दा कम्तीमा ९ जनाको ज्यान गएको छ । घटनामा अन्य केही घाइते भएको आशंका गरिएको छ ।
बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाबतर्फ गइरहेका दुईवटा बसहरूलाई बिहीबार साँझ झोब जिल्लामा रोकेर यात्रुहरूलाई जबरजस्ती ओरालिएको थियो । त्यसपछि उनीहरूमाथि गोली प्रहार गरिएको हो ।
झोबका सहायक आयुक्त नवीद आलमले घटनामा ९ जनाको मृत्यु पुष्टि गरेका छन्। उनले मृतकहरूको शव पञ्जाब पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।
सरकारी अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले सडक अवरुद्ध गरी यात्रुहरूलाई लक्षित गरेका थिए। यस घटनालाई आतंकवादी आक्रमणको रूपमा लिइएको छ।
बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिदले विज्ञप्ति जारी गर्दै उक्त घटना आतंकवादी गतिविधिको श्रृंखला भएको बताए। “कलात, मस्तुङ र झोबमा आतंककारीहरूले आक्रमण गरेका छन्,” उनले भने, “तर सुरक्षाफलले तुरुन्तै प्रतिक्रिया जनाउँदै तीनै स्थानमा कारबाही गरेका छन्। हामी जनताको सुरक्षाका लागि पूर्ण रूपमा सतर्क छौं।”












Facebook Comments