बुटवल । माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रूपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ घर नजिकै माछा पाल्न भन्दै व्यवसायी नारायण बन्जाडेले खनेर राखेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।
तीन चार जना साथीसँग खेल्न भन्दै गएका प्रज्ञान साँझ ६ बजेतिर पौडी खेल्ने क्रममा पोखरीमा डुबेका थिए।
बालक पोखरीमा डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राति १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकालेको थियो ।
तिलोत्तमा नगरपालिका–७ का वडा अध्यक्ष देवीप्रसाद पङ्गेनीका अनुसार स्थानीय व्यवसायी नारायण बन्जाडेले व्यावसायिक रूपमा माछा पाल्ने भन्दै निर्माण गरेको पोखरीको चारैतर्फ पर्खाल उठाएर गेट राख्न मात्र बाँकी थियो।
पोखरीको गेट खुला देखेपछि पौडी खेल्न गएका बालक १० फिटभन्दा गहिरो पोखरीको दलदलमा गडेपछि पौडी खेलेर माथि निस्किन नसक्दा मृत्यु भएको वडा अध्यक्ष पङ्गेनीले बताए ।
पङ्गेनीका अनुसार पोखरीमा पानी भरिएको छ भने पिँधमा माटो पग्लिएर दलदल बनेको छ।
गहिरो र दलदल सहितको पोखरीमा डुबेका बालकलाई तीन घण्टाको खोजीपछि प्रहरीले बाहिर निकालेको थियो ।











Facebook Comments