क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बिहीबार आफ्नो एआई स्टार्टअप ‘एक्सएआई’को नयाँ मोडेल ‘ग्रिक ४’ सार्वजनिक गरेका छन् । यसलाई ओपनएआई र गुगल जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने दिशामा ठुलो कदम मानिएको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कको एआई प्रणालीले यहुदी विरोधी र हिटलरको प्रशंसा गर्ने जवाफ दिएपछि विवाद उत्पन्न भएको समयमा यो मोडल आएको हो ।
मस्कले बिहीबार राति लाइभस्ट्रिममा ग्रिक ४ को घोषणा गरेका थिए । यो मोडेलसँग शैक्षिक विषयहरूमा पीएचडी भन्दा राम्रो भएको र सबै विषयहरूमा स्नातकोत्तर स्तर ज्ञान भएको उनले बताए । ‘ग्रिक ४ हरेक विषयमा स्नातकोत्तर स्तरमा छ । कुनै अपवाद छैन,’ मस्कले भनेका थिए ।
ओपनएआई र गुगलले नियमित रूपमा आफ्नो एआई मोडेलहरूको लागि गर्ने जस्तै ग्रिक ४ को क्षमता र सीमितताहरूको बारेमा एक्सएआईले अहिलेसम्म कुनै आधिकारिक प्राविधिक रिपोर्ट जारी गरेको छैन ।
प्रयोगकर्ताहरूले प्रति महिना ३० डलरको सदस्यता लिएर वेबसाइट वा एप मार्फत ग्रोक ४ चलाउन सक्नेछन् । यसको ठुलो संस्करण ग्रिक ४ हेभीको मूल्य प्रति महिना ३०० डलर छ । वर्षको अन्त्यसम्ममा एक्सएआईले कोडिङ र भिडियो उत्पादन जस्ता कार्यका लागि विशेष मोडेलहरू प्रस्तुत गर्ने पनि मस्कले बताएका छन् । एआई सत्य पत्ता लगाउन अनुकूलित हुनुपर्छ र यो इमानदार र नैतिक हुनुपर्ने पनि मस्कले बताए ।
यसैबिच, एक्सकी सीईओ लिन्डा याकारिनोले बुधबार कम्पनी छोड्ने घोषणा गरेकी छिन् । तर उनले यसको पछाडिको कारण भने खुलाएकी छैनन् ।












Facebook Comments