चीनले रसुवागढी नाका नखोल्दा आयोजनाका काम प्रभावित

काठमाडौं । चीनले कोभिड-१९ को कारण देखाउँदै २० महीनादेखि रसुवागढी नाकाबाट आवतजावत बन्द गर्दा आयोजनाको संयुक्त रूपमा हुनुपर्ने काम रोकिएको हो। दुवै देशका प्राविधिकले स्थलगत रूपमा हेरेर गर्नुपर्ने काम २०७६ माघदेखि हुन नसकेको रातमाटे-रसुवागढी-केरुङ ४०० केभी प्रसारण लाइन आयोजनाले जनाएको छ।

आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार नाका सञ्चालनमा नआउँदा ‘जोइन्ट क्रसिङ पोइन्ट’ टुङ्गाउन सकिएको छैन। “नाकाबाट आवतजावत नखुल्दासम्म जोइन्ट क्रसिङ प्वाइन्ट र कन्भटर स्टेशनको काम गर्न सम्भव छैन,” उनले भने, “यसका लागि दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्नुपर्छ।”

आयोजनाका अनुसार संयुक्त रूपमा लोड फ्लो टेस्ट र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्नुपर्ने हुन्छ। अहिले यी सबै काम रोकिएको छ।

नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाका नखुलेका कारण समस्या भएको आत्रेयले बताए। “चीनले जिलोङ काउन्टीमा सबस्टेसन निर्माण गरिरहेको जानकारी दिएको छ,” उनले भने, “हामी त्यहाँ जान नपाउँदा अवलोकन गर्न सकिएको छैन।”

आयोजना निर्माणका लागि नेपाल र चीनबीचको संयुक्त प्राविधिक समूहको बैठक पनि बस्न सकेको छैन। दुई देशबीच विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै लोड फ्लो टेस्टको काम सकिएको छ। स्टेट ग्रिड अफ चाइनाले चीनतर्फ लोड फ्लोको अध्ययन गर्नेछ।

नेपाल विद्युत् प्राधिकरणको योजना तथा अनुगमन निर्देशनालय अन्तर्गत रहेको सिस्टम प्लानिङ डिपार्टमेन्टले एक महीना लगाएर लोड फ्लो टेस्ट गरेको थियो। नतीजा अनुसार, अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल चीनबीच ३ हजार मेगावट विद्युत् आदानप्रदान गर्न सकिने देखिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.