जबज हटाउने ओली हुन्, उनले नेतृत्व गरेपछि पार्टी लथालिंग भयो : झलनाथ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद हटाउने व्यक्ति केपी ओली नै भएको बताएका छन् ।

युवा संघको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकता गर्दा पनि विधिविपरीत ओलीको इच्छाअनुसार मात्रै गरे । जनताको बहुदलीय जनवाद हटाउने केपी ओली नै हुन् । पार्टी एकता गर्दा पनि व्यक्तिगत सम्झौता गरे । तर, आफैँले सम्झौताअनुसार अघि बढ्न सकेनन् ।’ ओलीको गलत विचारको कारणले एकता टुट्दै गइरहेको बेलामा अदालतको निर्णयले एकता भंग गरिदिएको नेता खनालको भनाइ छ । नेता खनालले पार्टीको छैटौं महाधिवेशनदेखि नै ओली गुटको आधारमा चल्न थाले थालेको आरोप लगाए ।

‘संविधानको लक्ष्य पूरा गर्नका लागि कम्युनिस्ट एक भएर लाग्यौँ। आम निर्वाचनमा जुन ढंगले विजय प्राप्त गरेका थियौँ। कम्युनिस्ट पार्टीहरू एकीकरण भएको हुनाले हामीले दुईतिहाई बहुमतनजिकको सरकार सञ्चालन गरेका थियौँ’ उनले भने ‘तर, त्यो अगाडि बढ्न सकेन। पार्टीको छैटौं महाधिवेशनदेखि नै ओली गुटको आधारमा चल्न थाले। पार्टीको विधानबाहिर हिँडे।’

वरिष्ठ नेता खनालले ओली गुटबन्दी र दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको पनि आरोप लगाए । पार्टीले प्रधानमन्त्री बनाएपछि पार्टी बिर्सेको दाबी गरे। ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटको क्याबिनेट बनाएको आरोप उनको छ ।

उनले यस्तो प्रवृत्ति हटाउन सकियो भनेमात्र पार्टीमा समस्या नआउने बताए । ‘हामीले बेलैमा चिनेर त्यस्तो प्रवृत्ति हटाउन सक्यौँ भने पार्टी बन्छ। नत्र पार्टीभित्र समस्या भइरहन्छ। नवौँ महाधिवेशनमा आएर ओली गुटले पार्टी नेतृत्व कब्जा गर्न पुग्यो’ उनले भने, ‘हाम्रा पनि केही कमी कमजोरी भए होला। तर, ओलीले नेतृत्व गरेपछि पार्टी लथालिंग बन्दै गयो।’

Facebook Comments