नक्कली बिहेको नाममा चीनतिर युवती तस्करी, बच्चा जन्माउन बाध्य बनाइने

काठमाडौँ । बिहेकाे नाममा चीनमा नेपालसहित विभिन्न पाँच देशबाट युवतीहरूकाे तस्करी भइरहेकाे छ। विभिन्न प्रलाेभन देखाइ नक्कली बिहे गर्दै चीनमा नेपाली युवतीहरूकाे तस्करी भइरहेकाे एक तथ्याङले देखाएकाे छ। नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह नै सक्रिय रहेकाे प्रहरीकाे तथ्याङले देखाएकाे छ।

नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको प्रहरी अधिकारीहरूकाे भनाइ छ ।

यस्तै काठमाडौँ, बबरमहलकी २३ वर्षीया रस्मितालाई चिनियाँ भाषा बोल्न जानेका काभ्रेका रोशी गाउँपालिकाका किरण तामाङले ‘बिहे र रोजगारी’ को लोभ देखाएर २०७६ पुस २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीनको सान्दोङ प्रान्तस्थित हेज शहरमा पुर्‍याए ।

प्रहरीका अनुसार किरण आफैँ गएर चिनियाँ नागरिक ताम्पु थोङको जिम्मा लगाएर नेपाल फर्किए । युवतीमाथि ती चिनियाँ नागरिकले यौनशोषण गरेर आफ्नो घरमा बन्धक बनाएर राखे । त्यसपछि रस्मितलाई लाग्यो, ‘म त बेचिएछु ।’

सामान्य पढलेख गर्न सक्ने ती युवतीले आफू पीडित बनेको कुरा सामाजिक सञ्जालमार्फत परिवारलाई जानकारी गराइन् । उनी बेचिएको खबर पाएपछि चीनस्थित नेपाली दूतावास र प्रहरीको समन्वयमा २०७७ कात्तिक १२ गते नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले उनको उद्धार गर्‍यो ।

लगत्तै तस्करीमा संलग्न किरणको खोजीमा जुटेको ब्यूरोको टोलीले यही पुस १३ गते उनलाई पक्राउ गर्‍यो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीका अनुसार किरणले ‘चिनियाँ पुरुषले नेपाली युवतीसँग बिहे गर्न चाहेको’ लोभ देखाएर ती युवतीलाई चीन पुर्‍याएको प्रहरी समक्ष स्वीकारेका छन् ।

एसपी चौधरी भन्छन्, ‘पीडित युवतीको उजुरीका आधारमा हामीले घटनाको दोषी पक्राउ गर्न सफल भएका छौँ । अभियुक्तले घटना स्वीकारेका छन् ।’ यो घटना त नेपाली युवतीलाई बिहेको प्रलोभनमा पारेर चीनतर्फ तस्करी गर्ने गरेको पछिल्लो उदाहारण मात्र हो । एसपी चौधरीका अनुसार चिनियाँ नागरिकसँग बिहे गराउने लोभ देखाएर नेपाली युवतीको चीनतर्फ तस्करी हुने क्रम शृङ्खलाबद्ध रूपमा देखिएको छ ।

चीनमा नेपाली युवती तस्करीका लागि भाडाका बेहुला प्रयोग हुने गरेको छानबिनमा खुलेको छ । नेपाली युवतीसँग बिहे गरेका युवक चीन पुगेपछि बेपत्ता हुन्छन् । चिनियाँ युवालाई आर्थिक प्रलोभनमा पारी नेपाल ल्याउने र बिहे गराएर चीन पु¥याई अन्य गतिविधिमा लगाउने गरिएको छ ।

अधिकांश घटनामा भाडाका बेहुला नै प्रयोग हुने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् । विगतमा बिहे गरेर चीन पु¥याइएका युवतीलाई युवककै घरमा राखी यौन र श्रम शोषण हुन्थ्यो । पछिल्लो समय बच्चा जन्माउनका लागि मात्र लैजान थालिएको नयाँ तथ्य सामुन्ने आएको छ । नेपाल मात्र नभई पाकिस्तान, म्यानमार, बंगलादेश र भुटानबाट पनि नक्कली बिहे गरी युवतीहरूलाई चीन पु¥याइने गरेको छ ।

नेपालबाट चीनमा बिहेको नाममा युवतीको तस्करी भइरहेको ०७१ सालमै खुलेको थियो । त्यतिवेला केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका केही म्यारिज ब्युरोका सञ्चालकलाई पक्राउ पनि गरेको थियो । यस्तै, भदौ ०७६ मा मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहित १० जनाको गिरोहलाई पक्राउ गरेको थियो । त्यतिवेला बिहे गरेर चीन पुगेका चार युवतीको उद्धार गरिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.