कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन

अमेरिकाको क्यालिफोर्नियास्थित टुलेन विश्वविद्यालय मेडिकल स्कुलमा फोक्सो एवं क्रिटिकल केयर फिजिसियन जोसुवा डेनसनले २० बेडको आइसीयुमा हालै दुई जना सिजर (कम्पन), केही श्वास फेर्न नसक्ने स्थिति (रेस्पिरेटरी फेलर)का र केही मिर्गौलाका बिरामी (किड्नी फेलर) हेरिन्। त्यसको केही  दिनअघि मुटुको चाल  रोकिएकी एक युवतीलाई उनको टिमले सीपीआर (छाती थिच्ने पद्दति) दिएको थियो, जुन सफल हुन् सकेन। यी सबै बिरामीमा एउटै कुरा साझा थियो–सबै कोभिड पोजिटिभ थिए।

कोभिडबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसले कुन अंगमा के-कस्तो हानी गर्छ भन्ने पत्ता लगाउन डाक्टरहरु, खासगरी प्याथोलोजिस्टहरु निकै संघर्ष गरिरहेका छन्। उनीहरुले अहिले बुझ्दै आएका छन् कि कोरोना भाइरसको ‘ग्राउण्ड जिरो’ अर्थात आधार अंग फोक्सो भए पनि यसले दिमाग, मुटु, आन्द्रा, मिर्गौला र रक्तनलीसम्मलाई गाँज्न सक्छ।

येल विश्वविद्यालय र एल-न्यु हवेन अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ हार्लन क्रुमोल्ज, जो कोभिड बिरामीको क्लिनिकल प्रस्तुति र तथ्यांकमा चासोका साथ काम गरिरहेका छन्, भन्छन्-कोभिडको कडापन अचम्मित तुल्याउने र अत्याउने खालको छ। यस्तो बुझाइले अग्रमोर्चामा खटिएर काम गर्ने डाक्टरहरुलाई कोभिडका अनौठा र रहस्यमय लक्षणका बारेमा जानकारी मिल्न थाल्नेछ। हालै खुलासा भएको रगत जम्ने अर्थात् ब्लड क्लट गराउन सक्ने चरित्रका कारण सामान्य लाग्ने बिरामी पनि एक्कासी ज्यानै लिन सक्ने गम्भीर इमर्जेन्सीमा रुपान्तरित हुन् सक्ने खतरा देखिएको छ।

त्यस्तै कुनै-कुनै इम्युनिटी अचाक्ली बढ्ने केसमा इम्युनो-सप्रेसिंग औषधिले पो काम गर्छ कि त भन्ने जिज्ञासा बढ्दै गएको छ। अन्तिमसम्म पनि स्वास फेर्न गार्‍हो परेको नदेखिने तर रगतमा अचम्मै लाग्ने गरी अक्सिजनको मात्रा कम देखिने पनि अर्को विचित्रको लक्षण देखिएको छ। पेन्सिलभेनिया विश्वविद्यालयकी पल्मोनोलोजिस्ट निलम मंगलमूर्ति भन्छिन्, ‘हाम्रो शरीरको प्रणाली अनुसार लक्षणको व्याख्या गर्ने अप्रोचले उपचारका बारेमा सोच्न र अनुसन्धान गर्न थप सहज हुनेछ।’

यो भाइरसले कसरी कोशिकामा आक्रमण गर्छ भन्ने बुझाइको चित्र  छिटो-छिटो बदलिरहेको भए पनि उच्च कडापनका ५ प्रतिशत बिरामीमा हुने लक्षणका बारेमा भने अब क्रमशः प्रस्टता मिल्दै गएको छ। हप्तैपिच्छे हजारौं शोधपत्र प्राप्त भैरहेका छन्। अनलाइन रिसर्च आर्टिकलहरु आइरहेका छन्। हुन त अग्रगामी तुलनात्मक अध्ययनहरु (प्रोस्पेक्टिभ र्‍याण्डमाइज्ड कन्ट्रोल ट्रायल) हुन् बाँकी नै छन्, पियर-रिभ्युड जर्नलमा त्यति कुरा प्रकाशित भैसकेकै पनि छैनन्।

जे–जति तथ्य र ज्ञान प्राप्त भएका छन्, स-साना अध्ययन र केस स्टडीमा मात्रै आधारित छन्। यत्तिकै आधारमा पनि भन्न सकिन्छ कि यो भाइरस धर्म निभाउने भाइरस होइन। रस विश्वविद्यालय मेडिकल सेन्टरकी कोभिड बिरामी हेरिरहेकी  लिभर प्रत्यारोपण डाक्टर न्यान्सी ह्यु भन्छिन्, ‘हामीले अझै धेरै बुझ्न बाँकी नै छ र हामीले आफ्नो दिमाग खुल्ला राखेर हेर्दै जानुपर्नेछ।’

संक्रमण कथा

जब सार्स-कोभ-२ भाइरस मिसिएको छिट्टा वा ड्रपलेट अर्को व्यक्तिको मुख, नाक वा आँखाबाट छिर्छ, अन्ततः यसले घाँटी र नाकको भित्रि पत्रमा ‘स्वागतार्थी घर’ भेट्छ र  केही समय ट्रान्जिट लिन्छ। वेलकम शान्गर इन्स्टिच्युटका वैज्ञानिकहरुले आफ्नो सोधको प्रि-प्रिन्ट पेपरमा उल्लेख  गरेका छन्। यस भाइरसको एसीइ-२ रिसेप्टर (ग्रहण प्रोटिन) भएका कोशीकासँग विशेष आकर्षण हुने हुँदा क्रमशः श्वास नलिका कोशीकाहरुमा भाइरस प्रवेश गर्दछ र एक किसिमले भन्नुपर्दा अब कोरोना भाइरसले कोशीकाको गतिविधिमा पुरै कब्जा जमाउँछ वा भनौ हाइज्याक नै गर्छ।

फलतः कोशीकाभित्र आफूजस्तै लाखौं कपि भाइरस उत्पादन गर्छ र बाहिर निक्लेर फेरि अर्को कोषिकामा आक्रमण जारी राख्छ। संक्रमणको यो फेजसम्म व्यक्ति लक्षणमुक्त नै हुन पनि सक्छ वा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी अप्ठ्यारो हुने,  जिउ र टाउको  दुख्ने, स्वाद वा बास्ना थाहा नहुनेजस्ता लक्षण आउन पनि सक्छन्।

यदि यही फेजमा नै शरीरको रोगप्रतिरोधी प्रक्रियाले भाइरस बढ्ने यो क्रमलाई परास्त गर्न सकेन भने कोरोना भाइरस आफ्नो यात्रा जारी राख्दै स्वास नली हुँदै अब फोक्सोमा पुग्छ र त्यहाँ रहने ‘एल्भिओलाई’ नामक थैलीमा एक पत्रे कोशीकाको एसीइ-२ रिसेप्टरमार्फत् कोषभित्र छिरी फेरि त्यसैगरी लाखौको संख्यामा विभाजित हुने र भाँडभैलो मच्चाउने काम गर्दछ।

सामान्यतया एल्भिओलाइसँग क्यापिलरी अर्थात सुक्ष्म रक्तनशा टाँसिएर रहेका हुन्छन्, जहाँबाट अक्सिजन रक्त कोशीकासम्म पुग्छ। तर भाइरसले आक्रमण गरेको र ध्वस्त गरेको यस संरचनामा राम्रोसँग स्वस्थ अक्सिजन बहन नै पाउँदैन र सुक्ष्म खराब तत्वहरु उत्सर्जन हुन् थाल्छन्। एक  प्रकारको भाइरस, एण्टिबडी र ती खराब तत्वको युद्धको स्थिति सृजना हुन् पुग्छ, जसका कारण कोशीकाहरु झन्–झन् नस्ट हुदै जान्छन्। यसरी क्रमशः निमोनिया विकास हुन् पुग्छ र ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न  गाह्रो  हुनेजस्ता थप जटिल लक्षण देखा  पर्न  थाल्छन्।

यसमध्ये केही बिरामी थप जटिल स्थितिमा पुग्छन्।  एक्कासी सास झन् झन् सतही हुँदै जान्छ। अक्सिजनको मात्रा कम हुँदै जान्छ र ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिण्ड्रम’ नामक जटिलताको अवस्थामा बिरामी पुग्छन्। सामान्यतया कालो देखिनुपर्ने फोक्सोको एक्सरे वा सीटी स्क्यानको इमेजमा सेता टाटा देखिन्छन्। अन्ततः बिरामी भेन्टिलेटरमै पुग्छन्। उनीहरुको पोस्टमार्टम हेर्ने हो भने फोक्सोमा पानी, पीप र क्षतविक्षत फोक्सोका कोशीकाहरु जमेको देखिन्छ।

कतिपय  क्लिनिसियनले के भनेका छन् भने केही प्रतिशत गम्भीर बिरामीमा त्यसको कारक भनेको चाहिनेभन्दा बढी इम्युनिटी जाग्न पुग्छ र त्यसैको ‘डाउनहिल’ खराबी थपिने क्रममा ‘साइटोकाइन बेग’  को स्थितिसम्म आइपुग्छ। साइटोकाइन तत्व एन्टीबडी बन्ने प्रक्रियाका लागि आवश्यक भए पनि यो तत्व चाहिने मात्राभन्दा धेरै उत्पन्न भइदिँदा उल्टै हानी थपिने र थप कोशीका र तन्तुहरु नस्ट गर्ने सम्भावना गराउँछ। नतिजास्वरुप रक्तनशा चुहावट हुने, रक्तचाप  घट्ने, रगत जम्ने वा ब्लड क्लट हुने र भयावह रुपमा अंगहरु फेल हुने हुन्छ।

साइन्सम्याग डट ओआरजीको मूल सामग्रीबाट डा सुवास प्याकुरेलद्वारा अनुदित। डा. प्याकुरेल स्वास्थ्य खबरपत्रिकाका मेडिकल एडिटर हुन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.