विराटनगर : भारतीय भूमि हुँदै नेपाल आएकामा कोरोना संक्रमण देखिइरहेका बेला विराटनगरको जोगवनी नाका हुँदै १५ युवा भारतबाट रातारात नेपाल छिरेका छन्। दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका उनीहरुलाई नेपाल छिरेपछि हाल विराटनगर महानगरपालिका–१६ हुलास मेटल चौकमा रोकेर राखिएको छ। मंगलबार बिहान २ बजे विराटनगर प्रवेश गरेका युवामा मोरङका दुई, झापाका चार र सुनसरीका नौ जना छन्।
ती मध्ये सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरीका दुई, इनरुवा र धरानका एक/एक, झापा शिवसताक्षीका दुई, कन्काइका दुई, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक/एक जना छन्।
नेपाल गरेका युवाहरु २० देखि ३० वर्ष उमेरका छन्। उनीहरुलाई अगाडि बढ्न नदिन इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा र सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बस्नेतको नेतृत्वमा संयुक्त टोली नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ छ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल र भारत दुवै देशले कडाई गर्दै लकडाउनलाई जारी राखेका बेला उनीहरु कसरी नेपाल प्रवेश गर्न सके भन्ने विषयले सबैलाई आश्चर्यमा पारेको प्रनि थापाले बताए। नेपाल छिरेको र सबै जना भोकभोकै रहेको थाहा पाएपछि युवाहरुलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानाको व्यवस्था गरिदिएका छन्।
भारततिरै फर्काउने सम्भावना नभएपछि नेपाल प्रवेश गरेका युवालाई समन्वय गर्दै आ–आफ्ना ठाउँका स्थानीय तहको जिम्मा लगाउने तयारी भइरहेको प्रनि थापाले जानकारी दिए। क्वारेन्टाइनमा राखेर निगरानी गर्ने र स्वास्थ्य परीक्षण गर्दै गरी घर पठाउने जिम्मा स्थानीय तहकै हुने प्रहरी निरीक्षक थापाका भनाइ छ।
थापाले भारतबाट आएकामा कोरोना संक्रमण देखिने क्रम बढिरहेकाले आवतजावत हुन नदिन सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्ने काम भने भइरहेको जानकारी दिए।
‘कोरोना संक्रमण नियन्त्रणका लागि दुवै देशमा कडाई गर्दै सीमा नाका बन्द गरिएका बेला यी युवा कसरी नेपाल आए भन्ने बुझ्दा निक्कै दुःख र कष्ट बेहोर्दै भारतीय प्रशासनलाई छलेर उनीहरु आएको पाइयो।’ थापाले भने।
जोगवनी नाका हुँदै नेपाल छिरेका उनीहरुलाई जोगवनी प्रशासनले क्वारेन्टाइनमा राख्नका लागि आफ्नो जिम्मा लगाउन आग्रह गरेको वडा अध्यक्ष सुब्बाले बताए। अनेक दुःख, पीडा सहँदै जसोतसो नेपाल छिरेका कारण उनीहरुलाई भारतको जिम्मा नलगाई नेपालमै क्वारेन्टाइनमा राखेर निगरानी गर्ने गरी सबै पक्षसँग समन्वय भइरहेको उनको भनाइ छ।
नेपाल प्रहरी स्रोतका अनुसार जोगवनी हुँदै नेपाल छिर्न खोज्ने ६० भन्दा बढी अहिले पनि भारतको जोगवनीस्थित क्वारेन्टाइनमा छन्।
युवाहरुले पनि भारत नफर्कने र नेपालमै क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन्। तीमध्ये सुनसरीका एक युवाले आफूहरु १५ दिनसम्म हिँडेर भोकभोकै नेपाल आउन सकेको सुनाए। उनी भारतको नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका थिए। ‘हिँडडुल र आवतजावतमा भारत सरकारले निक्कै कडाई गरेको छ,’ उनले भने, ‘तर पनि नयाँ दिल्लीदेखि भारतीय प्रशासनलाई छल्दै पैदलै यहाँसम्म आइपुगेका हौं।’महामारीको समयमा आफ्नो मुलुक, समाज र परिवारको यादले भारतमा अडिन नसक्दा अनेक हण्डर खाँदै भएपनि आएको उनको प्रतिक्रिया छ। ‘बरु मरे पनि आफ्नै भूमिमा मर्छौँ भनेर आएका हौँ।’ उनले भने।
मोरङका अर्का युवाले नेपाल आउने क्रममा आफूहरुले धेरै ठाउँ पैदल हिँडेर छिचोलेको र कुनै ठाउँमासामान ढुवानी गर्ने सवारीसँग ‘लिफ्ट’ मागेर आएको जानकारी दिए। कुनै ठाउँमा पाउरोटीले पेट भर्दै हिँडेको स्मरण गर्दै उनले एक ठाउँमा भने भोकभोकै हिँडेको देखेपछि दया लागेर भारतीयले खाना खुवाएको जानकारी दिए।
कोरोना त्राससँगै समस्यामा परेका हजारौं नेपालीहरु भारतीय सुरक्षाकर्मीलाई छल्दै नेपालतर्फ हिँडेर आइरहेको जानकारी दिए। सुनसरीको गढी गाउँपालिका प्रमुख श्रीप्रसाद यादवले भारतबाट युवाहरु नेपाल छिरेको जानकारी आएको बताए। उनले स्थानीय प्रशासनसँग समन्वय गर्दै एम्बुलेन्समार्फत ल्याएर क्वारेन्टाइन्मा राख्दै सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए।
Facebook Comments