शीर्ष स्थानमा पुग्याे रोयल च्यालेन्जर्स

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ । अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रन समेत पुरा गरे । यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च ८ रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए । रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए । जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले ४ खेलमा ४ अंक जोडेको छ ।

Facebook Comments