चिनियाँ मुखपत्रमा राजदूत महेन्द्रबहादुर पाण्डेको अन्तर्वार्ता छापिएपछि उठेको तरङ्ग

काठमाडाैँ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल-भारत सीमा विवादजस्ता विषयबारे चिनियाँ सरकारी मुखपत्रलाई दिएको अन्तर्वार्तामा चर्चा गर्नु कूटनीतिक अभ्यासविपरीत भएको भन्दै विज्ञहरूले त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

ग्लोबल टाईम्सलाई दिएको अन्तर्वार्तामा पाण्डेले भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका थिए। पाण्डे पूर्वपरराष्ट्रमन्त्री पनि हुन्।

अन्तर्वार्तामा व्यक्त उनका कतिपय अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र भारत सरकारको दृष्टिकोण एउटै रहेको जस्तो आशय लाग्ने भन्दै विज्ञहरूले एक राजदूतले त्यस किसिमको धारणा राख्नु गलत भएको बताएका छन्।

हालै नेपाल-चीन सीमा क्षेत्रमा पर्ने हुम्लाको नाम्खा गाउँपालिकाको भूमिमा चिनियाँ पक्षले भवनहरू बनाएको विवरण आएकै बेला राजदूत पाण्डेको यो अन्तर्वार्ता प्रकाशित भएको छ।

ती भवनहरू नेपाली भूमिमा बनेको खबर निरन्तर रूपमा भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए। त्यसप्रति चासो व्यक्त गर्दै गएको मङ्गलवार चिनियाँ दूतावासले ती भवनहरू आफ्नो भूमिमा बनेको बताएको थियो।

भवन बनेको क्षेत्रमा नेपाली टोली स्थलगत अध्ययनमा गएको भए पनि त्यसको प्रतिवेदन नआउँदै बुधवार नेपालको परराष्ट्र मन्त्रालयले भवन चिनियाँ भूभागमा बनेको र त्यहाँबाट एक किलोमिटरवरै नेपाल-चीन सीमा रहेको उल्लेख गरेको थियो।

हतारमा नेपाल सरकारले प्रतिक्रिया जनाएको भन्दै विपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाइरहेको छ।चीनमा रहेका नेपाली राजदूतले राजदूतले चीनले नभई भारतले आफ्नो देशको भूमि कब्जा गरेको धारणा राखेको खबर भारतीय सञ्चारमाध्यमहरूले पनि प्रकाशित गरेका छन्।

भूराजनीतिक मामिलाबारे कलम चलाउने पत्रकार अखिलेश उपाध्याय भारत र चीन सम्बन्धमा राजदूत पाण्डेका जस्ता धारणाले असन्तुलन निम्त्याउने खतरा देख्छन्। उपाध्याय राजदूत पाण्डेको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको धारणा राख्छन्।

चीनलाई खुसी पार्ने हिसाबमा राजदूत पाण्डेले धारणा राखेको भन्दै उनले भने, “नेपालको लागि सबैभन्दा बढी अर्थ राख्ने सम्बन्ध भनेको भारतसँगको सम्बन्ध र चीनसँगको सम्बन्ध हो। यी दुई सम्बन्धहरूलाई सन्तुलनमा राख्न नसक्दा विभिन्न किसिमका दुर्घटनाहरू भएका हामीले परापूर्वकालदेखि नै देखिआएका छौँ।”

उनी थप्छन्, “चीन र भारत एक अर्काका प्रतिद्वन्द्वी पनि हुन् र साझेदार पनि हुन्। सन् २००८ यता नेपालमा चिनियाँ चासो बढेसँगै भूरणनीतिक प्रतिस्पर्धामा उनीहरू नेपालमा प्रतिद्वन्द्वीका रूपमा देखा पर्न थालेका छन्। यस्तोमा हाम्रो असंलग्न परराष्ट्रनीतिको पृष्ठभूमिमा काम गर्दा राजदूतले झनै सन्तुलन मिलाएर बस्नुपर्ने हो। यो पार्टीको कार्यकर्ताले बोलेको जस्तै भयो भन्ने मलाई लाग्छ।”

Facebook Comments