काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन आग्रह गर्दै द्वन्द्वरत पक्षलाई पनि वार्तामा आउन आग्रह गरे।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको बताए । विप्लव समुहको नाम नलिएपनि प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।
उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे ।
प्रधानमन्त्रीले मानवअधिकारको आन्दोलन नक्कली आन्दोलन नहुने भन्दै मानवअधिकारका विभिन्न पक्षहरु रहेकाले यो अधिकार राजनीतिक दल खोल्ने कुरामा मात्रै सिमित नरहेकाले जनताको सम्मान, सुरक्षा, आर्थिक अवस्था र स्वास्थ्यलगायत विभिन्न पक्षसँग पनि मानवअधिकारको कुरा जोडिएको बताए । उनले मानवअधिकारको रक्षा गर्ने पहिलो दायित्व राज्यको भएको पनि बताएका छन् ।
Facebook Comments