आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश

बुटवल।कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार यसअघि ५ कोरोना पुष्टि भएका र आज थपिएका १० युवा १ साताको अन्तरमा भारतबाट नेपाल प्रवेश गरेका हुन् ।भारतबाट फर्किएको थाहा पाउने वित्तिकै उनीहरूलाई गाउपालिका र नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

आज पुष्टि भएकाहरू भारतीय सिमावर्ती यशोधरा गाउँपालिका–५ बदौली गाउँका ८ जना, बुद्धभूमि नगरपालिका–१० र ७ हरिहरपुरका १/१ जना रहेका छन् ।प्रमुख जिल्ला अधिकारी पौडेलले संक्रमित क्षेत्रमा स्वाथ्यकर्मी सहितको टोली पठाइसकिएको र सिमावर्ती यशोधरा गाउपालिकालाई उच्च निगरानीमा राखिएको बताए ।

५ जनामा संक्रमण देखिएपछि शनिबार जिल्लाका २ सय ९० जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो ।

बुद्धभूमि नगरपालिकाबाट १ सय २५, कपिलवस्तु नगरपालिकाबाट १ सय ३ र यशोधरा गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । यी मध्येको रिपोर्टबाट १० जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअअघि जिल्लामा १ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

कोरोना देखिनेमा मायादेवी गाउँपालिकाका ४ र शुद्धोधन गाउँपालिकाका १ जना रहेका छन् । योसँगे कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

Facebook Comments