काठमाडौँ । सर्वोच्च अदालतले तास खेल्ने क्रममा भएको विवादलाई अपहरण ठहर्याउन नमिल्ने भन्दै अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीहरूलाई सफाइ दिएको खुलेको छ । अवकाश हुनुभन्दा तीन साताअघि कार्यविधि मिचेर तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरी आरोपितहरूलाई सफाइ दिएको खुलेको हो ।
दुर्गाबहादुर अधिकारीको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत विराटनगरको फैसला उल्ट्याउँदै हेमकर्ण पौडेल र उनका साथीहरूलाई सफाइ दिइएको थियो । फैसला गर्दा मिश्रको साथमा न्यायाधीश केदारप्रसाद चालिसे संयुक्त इजलासमा थिए । २०७५ मंसिर २३ को फैसलाको पूर्णपाठ हालैको सर्वोच्च अदालत बुलेटिनमा प्रकाशित छ । मिश्रले त्यसअघि पनि जिल्ला र पुनरावेदन अदालतको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ गरी आरोपितहरूलाई साधारण तारेखमा छाड्नू भनी आदेश गरेका थिए ।
जिल्ला र तत्कालीन पुनरावेदन अदालतले अपहरण तथा शरीर बन्धकको आरोप पुष्टि गरेको मुद्दा सर्वोच्च अदालत पुगेको थियो । अधिकारीलाई अपहरणको आरोपमा हेमकर्ण पौडेल, ‘सूर्य काँडे’ भनिने सूर्य राई, अजिस श्रेष्ठ र रोशन तामाङविरुद्ध चलेको तीनवटा मुद्दा २०७३ माघदेखि २०७४ जेठसम्म दर्ता भएका थिए । पौडेल त्यतिबेला कांग्रेसका इटहरी नगर सभापतिसमेत थिए । उक्त मुद्दाको अनुसन्धानदेखि नै राजनीतिक प्रभाव देखिएको भनी इजलासमै प्रश्न उठेको थियो । कान्तिपुर दैनिकबाट
Facebook Comments