कोभिड–१९ का कारण समग्र अर्थतन्त्र शिथिल भइरहँदा सुन बजार पनि अछूतो रहेन । अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरहँदा यहाँ पनि दैनिक नयाँ–नयाँ रेकर्ड बनाइरह्यो । सुनको भाउ बढेर तोलामै एक लाख रुपैयाँ नाघेको थियो । भाउ अस्वाभाविक रूपमा बढेपछि बजार पनि सुनसान छ ।
सुन बजारमा किनमेल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजार ठप्प हुँदा असार २ सम्म वाणिज्य बैंकसँग करिब ३ सय ४० किलो सुन थन्किएको थियो ।
सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, मेगा, ग्लोबल आईएमई, सनराइज, सानिमा, सिभिल, प्रभु र सेन्चुरी बैंकले उक्त परिमाण रहेको जानकारी गराएको महासंघका निर्देशक राजेन्द्र तुलाधरले जनाए । तर साउनमा पुनः जानकारी माग्दा २ सय ५१ किलो सुन बिक्री भएको जानकारी पाएको उनले बताए । ‘जिल्लाबाट साथीले सोधपुछ गरेपछि बैंकसँग सम्पर्क गरेका थियौं । साउन २६ सम्ममा ८९ किलो मात्रै सुन बाँकी रहेको जानकारी पाएका छौं,’ उनले भने । यसअनुसार यस अवधिमा २ सय ५१ किलो सुन बिक्री भएको देखिन्छ । एक किलो सुनमा ८५ तोला ७ सय ३३ लाल हुन्छ । साउन १ मा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन २३ मा तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । २८ गते घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँ पुगे पनि पुनः साउन ३० मा बढेर ९८ हजार ६ सय रुपैयाँ पुगेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
प्रतितोला ९८ हजार रुपैयाँका दरले हिसाब गर्दा एक किलो सुनको मूल्य ९४ लाख रुपैयाँ पर्छ । यसअनुसार २ सय ५१ किलो सुनको मूल्य २ अर्ब १० करोड रुपैयाँ पर्ने देखिन्छ । करिब दुई/तीन हप्तामा साढे २ सय किलो सुन बिक्री हुनु अस्वाभाविक भएको उनको भनाइ छ । मूल्य बढ्न थालेपछि ठूला लगानीकर्ताले सुन होल्ड गर्न थालेको उनले बताए । ‘भाउ बढेपछि बजार ठप्प छ । गहना बिक्री भएकै छैन । तर बैंकबाट एक्कासि सुन उठेको देखिन्छ,’ पूर्वअध्यक्ष शाक्यले भने ।
नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले पनि बजार ठप्प हुँदा अस्वाभाविक रूपमा सुन बिक्री भएकोमा आश्चर्य माने । ‘साउन १ सम्म ३ सय २०/३० किलो सुन मौज्दात थियो । त्यसको दुई सातापछि करिब १ सय ८० किलो मात्रै बाँकी थियो,’ उनले भने, ‘बजारमा बिक्री भएको छैन भन्छन् । तर, बैंकबाट धमाधम उठेको देखिन्छ ।’
व्यापारीहरूले नै बैंकबाट सुन खरिद गरेको उनको दाबी छ । संघका अनुसार बैंकहरूले आयात गरेको १५ दिनसम्म दुई महासंघ (सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघ) को सिफारिसमा मात्रै सुन बिक्री हुन्छ । त्यसपछि महासंघको सिफारिस चाहिँदैन । बैंकहरूले सिधै व्यवसायीलाई बिक्री गर्न सक्छन् । बैंकले प्यान/भ्याट नम्बर भएका सुन व्यवसायीलाई मात्रै बिक्री गर्न पाउँछन् । वाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउँछन् । बिक्री नभएपछि ती बैंकहरूले फागुनबाटै आयात गरेका थिएनन् ।
०७६ पहिलो साता प्रतितोला सुन ७५ देखि ७७ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । सरकारले चैत ११ देखि लकडाउन घोषणा गर्यो । त्यसपछि महासंघले चैत १० देखि मूल्य तोकेन । चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ मूल्य थियो । महासंघले जेठ २५ मा पुनः मूल्य तोक्ने निर्णय गर्यो । नेपाली बजार खुलेलगत्तै मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुग्यो । बजार खुले पनि बजार सुनसान नै थियो । मूल्य बढ्न थालेपछि बजार ठप्प भयो । तर बैंकबाट किलोका किलो सुन उठ्नु स्वाभाविक नभएको महासंघका अधिकारी बताउँछन् ।
‘सुनको गलत प्रयोग उचित होइन,’ शाक्यले भने, ‘गहना व्यवसायीकै हातमा परे/नपरेको विषयमा राष्ट्र बैंकमार्फत सुपरिवेक्षण गर्नु जरुरी छ । जाँच गर्नुपर्छ ।’ रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको भनाइ पनि उस्तै छ । प्रतितोला १ लाख पुग्दा थप बढ्ने आकलन गर्दै सामान्य कारोबार भए पनि २ सय ५१ किलो बिक्री अस्वाभाविक भएको उनले बताए । ‘विश्व अर्थतन्त्र र डलरका कारण भाउ अझै बढ्ने हल्ला भयो । गहना किनेर राख्न सक्नेले खरिद गरेको हुन सक्छ,’ उनले भने, ‘तर उक्त परिमाणमा उठ्नु स्वाभाविक होइन ।’
लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्छन् । अन्तर्राष्ट्रिय बजारमा आर्थिक संकट र अस्थिरता हुँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन् । कोरोनाको भ्याक्सिन बजारमा आइनसकेकाले लगानीकर्ता सुनतर्फ केन्द्रित थिए । जसले गर्दा सुनको भाउ उच्च भएको थियो । रसियामा कोभिड भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको थियो । रुसले भ्याक्सिन बनाए पनि युरोपियन र अमेरिकी बजारले त्यसलाई नपत्याउँदा बजार पुनः बढ्न थालेको व्यवसायी बताउँछन् । कान्तिपुर दैनिकबाट
Facebook Comments