दुई चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोपको जासुसी गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले चीनद्वारा प्रायोजित ह्याकरहरूले कोरोना भाइरस (कोभिड–१९) को खोप विकासका लागि क्रियाशील प्रयोगशालालाई निसाना बनाइरहेको आरोप लगाएको छ । अमेरिकी न्याय मन्त्रालयले कोभिड–१९ बारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे दुई जना चनियाँ नागरिकले जासुसी गरेको अभियोग लगाएका छन् ।

ती ह्याकरहरूले सूचना चोरी गर्न सरकारी सूत्रहरूबाट सहयोग लिएको अमेरिकी सरकारले दाबी गरेको छ ।

अधिकारीका अनुसार ती दुई जनालाई साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियानअन्तर्गत मुद्दा चलाइएको छ । इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थी ली सियाओई र डुङ जियाजमाथिको अभियोग मंगलबार सार्वजनिक गरिएको हो ।

अभियोजनकर्ताहरूले उनीहरू दुई जनामाथि कोभिड–१९ को सम्भावित खोपबारे अनुसन्धान गरिरहेको म्यासचुसेट्सको बायोटेक कम्पनीमा गत जनवरीमा जासुसी गरेको आरोप लगाएका छन् ।

त्यसको एक साता नपुग्दै उनीहरूले कोभिड–१९ बारे अनुसन्धान गरिरहेको मेरिल्यान्डस्थित कम्पनीको सूचना पनि ह्याक गरेको दाबी अमेरिकी अधिकारीको छ । अधिकारीहरूका अनुसार यी दुवै जना निजी ह्याकर हुन्, जसले विभिन्न समयमा चिनियाँ गुप्तचर निकाय र राज्य सुरक्षा मन्त्रालयबाट पनि सहयोग लिँदै आएका छन् ।

अमेरिकी अभियोजनकर्ताहरूले यी दुईमाथि यसअघि व्यापारसम्बन्धी गोप्य सूचना, बौद्धिक सम्पत्ति र अन्य महत्त्वपूर्ण व्यापारसम्बन्धी जानकारीबाट लाखौं डलर चोरेको आरोप लगाएका छन् । उनीहरूले सन् २००९ देखि नै यस प्रकारको कार्य गर्दै आएका थिए ।

अभियोगपत्रमा दुवै जनालाई चीनको सुरक्षा मामिला हेर्ने मन्त्रालयले सहयोग गरेको र उनीहरूले चिनियाँ सरकारका लागि काम गर्ने गरेको दाबी गरिएको छ । उनीहरूले हङकङमा प्रजातन्त्रका लागि लडेका एक अभियानकर्मीको पासवर्ड प्रयोग गरेर सेनाको विवरण चिनियाँ सरकारलाई उपलब्ध गराएको आरोपसमेत लगाइएको छ ।

Facebook Comments