भारतको आर्थिक सहयोगमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसको भवन निर्माण

काठमाडौँ । भारत सरकारले निर्माण गरिदिएको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको विज्ञान भवन औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले नवनिर्मित भवनको शुक्रबार संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको हो ।

जिल्ला समन्वय समिति मोरङले कार्यान्वयन गरेको उक्त परियोजना भारत सरकारको आर्थिक सहयोग ४ करोड ४३ लाखमा निर्माण गरिएको हो । नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयासअन्तर्गत अघि सारेको हो ।

यस्तो प्रयासअन्तर्गत परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायलाई विशेषगरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पु¥याउँदछ ।

सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७९८.७ करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ । सन् १९५५ मा स्थापना भएको उक्त क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पसमध्येको एक हो । नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा छन् । नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुने बताइएको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको छ ।

Facebook Comments