चीनलाई विश्वास गर्न नसकिने बेलायती विदेशमन्त्रीले चेतावनी

लन्डन । बेलायतका विदेशमन्त्री डोमिनिक राबले चीनलाई कुनै हालतमा विश्वास गर्न नसकिने चेतावनी दिएका छन् । चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन लागु गर्दै हङकङको स्वतन्त्रता अन्त्य गरेपछि बेलायती विदेशमन्त्री राबले अन्तर्राष्ट्रिय मामिलाका कुनै पनि प्रसंगमा चीनसँग विश्वास हुने बताएका हुन् ।

“चीनले बेलायतसँग गरेको अन्तर्राष्ट्रिय सम्झौतालाई उल्लंघन गरेको छ । सन् १९९७ मा हङकङलाई चीनको जिम्मा लगाउँदा हङकङको स्वतन्त्रता र स्वायत्तता ५० वर्षसम्म कायम गर्ने र एक मुलुक दुई प्रणाली लागु गर्ने सम्झौता भएको थियो । त्यो विश्वासको विषय थियो । तर, चीनले उक्त सम्झौता उल्लंघन गर्दै विश्वासको संकट पैदा गरेको छ ।”

उनले विश्वभरका अधिकांश मुलुकहरुले चीनले किन सम्झौता उल्लंघन गरेको भन्दै प्रश्‍न गरिरहेका बताएका छन् ।

यसअघि बेलायतका लागि चिनियाँ राजदूत लिउ सियाओमिङले बेलायतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका थिए । बेलायतले चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनको विरुद्धमा अभिव्यक्ति दिनुका साथै ३० लाख हङकङबासीलाई बेलायतमा नागरिकता दिने प्रस्तावसमेत गरेको थियो ।

हङकङको सरकारले संसदको कुनै परामर्श बिना नयाँ नियम जारी गर्दै व्यक्तिको सम्पत्ति छानबिन गर्ने, सम्पत्ति हरण गर्ने, व्यक्तिहरुका कुराकानी ट्रेस गर्ने र इन्टरनेटमा गरेका गतिविधिहरुलाई निगरानी गर्ने काम भइरहेको छ ।

चीनको उक्त कदमपछि अमेरिकाले चिनियाँ र हङकङका अधिकारीहरुमाथि प्रतिबन्धको कानुन बनाएको थियो भने बेलायतले पनि म्याग्‍निट्‍स्कि शैलीको प्रतिबन्धको कानुन पारित गरेको छ । यसअन्तर्गत मानवअधिको उल्लंघन गर्ने, अपराधमा संलग्‍नलाई बेलायतमा प्रतिबन्ध लगाइने भएको छ ।

Facebook Comments