चीनमा उइगर समुदायको जबरजस्ती जन्मदर राेक्ने अभियान

एजेन्सी । चीनले सिन्जियाङमा अल्पसंख्यक उइगर मुस्लिम समुदायको जनसंख्या नियन्त्रण गर्नकाे लागि जबरजस्ती जन्म रोक्‍ने अभियान थालेको एक अध्ययनले जनाएको छ । एक चिनियाँ अध्यताले अन्तर्राष्ट्रिय समुदायलाई यसको अनुसन्धान गर्न आग्रह गरकेा छन् ।

चीनले त्यहाँका लाखौं उइगरहरुलाई हिरासतमा राखेको छ । महिलाहरुलाई जबरजस्ती गर्भनिरोधक साधनको प्रयोग गराइरहेकोसमेत जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले यस्ता भयानक अभ्यासहरु रोक्‍न चीनलाई आग्रह गरेका थिए ।

बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्‍न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

Facebook Comments