एजेन्सी । म्यानमारका सेना प्रमुख जनरल मिन अउङ लाइङले चीनतर्फ संकेत गर्दै मुलुकमा रहेका आतंकवादी समूहको पछाडि ठूलो शक्ति रहेको बताएका छन् । उनले आतंकवादी समूहसँग लड्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोसमेत बताएका छन् ।
रुसको ७५ औं विजय दिवसको अवसरमा मस्को पुगेका उनले आफ्नो मुलुकमा रहेका आतंकवादी शक्तिहरुसँग लड्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको औंल्याएका छन् । म्यानमारले रुसबाट ठूलो परिमाणमा हातहतियारहरु र सैन्य उपकरणहरु लैजाने गर्छ ।
रुस भ्रमणका क्रममा उनले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेट गरेका थिए ।
दुबै पक्षबीच भारत-म्यानमारको सम्बन्धलाई थप बलियो बनाउने, सीमा सुरक्षाका साझा रणनीतिहरु बनाउने र आतंकवादविरुद्ध एकजुट भएर लड्ने समझदारी भएको जनाइएको छ ।
रुसी समाचार संस्थासँग कुरा गर्दै म्यानमार सैन्य प्रमुखले भने, “म्यामारकै आतंकवादी शक्तिसँग लड्न म्यानमारको सुरक्षा फौज सक्षम छ । तर, ती आतंकवादी समूहका पछि ठूलो शक्ति लागिरहेको छ । त्यस्ता शक्तिहरुलाई समाप्त पार्न अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्कता छ ।”
Facebook Comments