वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बारे छिट्टै घोषणा गर्ने चेतावनी दिएका छन् ।
डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै ट्रम्पले शुक्रबार अब छिट्टै उसबारे घोषणा गर्ने जनाएका हुन् । ट्रम्पले यसअघि पनि डब्लूएचओमाथि यस्तै आरोप लगाएका थिए । उसले चीनका लागि काम गरिरहेको बताएका थिए ।
चीनको पक्ष लिएर अमेरिका र अन्य देशलाई गलत सुझाव दिएको भन्दै डब्लूएचओलाई दिने अनुदान रोक्ने ट्रम्पले यसअघि नै चेतावनी दिएका थिए । ‘मलाई विश्वास छैन कि, यो उद्देश्यसाथ गरिएको थियो । तर यो असक्षमताको रुपमा बाहिरियो । र उनीहरुलाई कसरी कुरा गर्ने नै थाहा भएन,’ ट्रम्पले यही शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा बताएका छन् ।
अन्तर्वार्ताको क्रममा ट्रम्पले डब्लूएचओलाई दिँदैआएको अनुदानबारे निर्णय गर्ने पनि बताए । हरेक वर्ष डब्लूएचओलाई ५०० मिलियन डलर दिँदैआएको अमेरिकाले ट्रम्पको चेतावनीसँगै रोक्नसक्ने आंकलन पनि गरिएको छ । ट्रम्पले डब्लूउचओले चीनका सबै कामलाई ठीक भन्ने गरेको र उसबाट ३८ मिलियन अमेरिकी डलर पाउने समेत दावी गरे । ‘म छिट्टै एक घोषणा गर्दैछु, उनीहरु चीनको कठपुतली हुन् । चीनले गरेका हरेक काम ठीक हुन्छन्, उनीहरु चीनबाट ३८ मिलियन डलर पाउँछन्,’ ट्रम्पले भनेका छन् । एजेन्सी
Facebook Comments