बालुवाटार वार्ताले नेकपा गम्भीर माेडमा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका हुन् । प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे जानकारी दिन दाहालले साँझ सचिवालयका अन्य ५ नेतालाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए । त्यही छलफलमा दाहालले ओलीसँगको भेटबारे जानकारी गराएको थिए । वरिष्ठ नेता झलनाथ खनालका अनुसार ओलीले दुवै पद नछाड्ने पूर्ववत् अडान दोहोर्‍याएका छन् ।

बिहीबार पनि ओलीले दुवै पद नछाड्ने र आवश्यक परे अरु विषयमा मात्र छलफल गर्ने बताएका थिए । अचानक संसद् अधिवेशन अन्त्य गर्ने निर्णयपछि दाहाल र महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । भेटमा ओलीले आफूले दुवै पद नछाड्ने बताएका थिए । ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो । शनिबार पुन: बैठक बस्ने छ ।

बिहीबार स्थायी कमिटी बैठक स्थगितपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’ बुधबार नेकपाका बहुमत स्थायी कमिटी सदस्यले भेला गरेर प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा गराउने निष्कर्ष निकालेका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.