ओली र प्रचण्डबीच तीन घण्टा भयाे यस्ताे छलफल

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ३ घण्टा छलफल भयो । अपराह्न १२ बजेदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटघाट ३ बजेतिर सकिएको थियो ।

छलफलमा पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्ष ओली र प्रचण्डबीच भएको ५ बुँदे सम्झौताका साक्षीहरू नेकपाका हालका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सँगै थिए ।

छलफलमा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा गरिएको सहमतिअनुसार अघि बढ्न सकिने बताए । त्यतिबेला भएको पाँच बुँदे सम्झौताको चौथो नम्बरमा समानता र समान अवधिको आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

स्रोतका अनुसार प्रचण्डले आलोपालो सहमतिमा फर्किने प्रस्ताव राखेपछि ओलीले गत मङ्सिर ४ गते भएको कार्यविभाजनभन्दा पछाडि फर्किन नसक्ने अडान लिए । मङ्सिर ४ गते बसेको सचिवालय बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै ओलीले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।

नेकपाको स्थायी कमिटी बैठकको सातौँ दिनको बैठक शनिवार बिहान ११ बजे बालुवाटारमा बस्ने कार्यक्रम तय गरिएको छ । त्यसअघि अध्यक्षद्वयबीच एक चरण छलफल हुनेछ । ‘अध्यक्षद्वयबीच भोलि पनि ठोस सहमति भएन भने स्थायी कमिटी बैठक रोकिने या स्थगित हुने सम्भावना पनि छ,’ एक स्थायी कमिटी सदस्यले भने ।

Facebook Comments