काठमाडौं । नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् । सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।
उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ छ। आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भनेकी छन्।
‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडिओमा भनेकी छन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’ आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ छ।
‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनिन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँसिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र?
उनले अगाडि भनिन्, ‘मलाई त्यतिबेला नै भित्रबाट घिन लागेको थियो, तर हाँसेरै बोलिदिएँ। मेरो परिवारलाई फिल्म क्षेत्रको विषय केही ज्ञान छैन। मैले पनि त्यतिबेला यो कुरा नजरअन्दाज गरेँ तर आखिरमा सबैको असली रूप बाहिर आएको छ।’
साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो। यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन्।
‘हरेक फिल्मको प्रचारप्रसारमा जाँदा मलाई तपाईं किन घमण्डी हुनुहुन्छ भनेर सोधिन्थ्यो। मलाई भेट्दै नभेटेको, चिन्दै नचिनेको मान्छेले पनि म घमण्डी छु भनेर धारणा बनाइसकेका थिए। यसले मलाई दिक्क बनाउथ्यो। अन्तिममा थाहा पाएँ, जोसँग मैले काम गर्दै आएको थिएँ, उनीहरूले नै मेरोबारे अफवाह फैलाएका रहेछन्,’ उनले भनेकी छन्।
Facebook Comments