एजेन्सी । चीनले ग्लोबल इन्भायरोनमेन्ट फसिलिटी काउन्सिलको ५८औं बैठकमा भुटानको जमीनमाथि दाबी गरेको छ । भुटानको साकतेङ वन्यजन्तु आरक्ष विवादित भूमि भन्दै लगानी गर्ने कामलाई चीनले विरोध गरेको हो ।
तर विगतमा उक्त भूमिका विषयमा कुनै पनि विवाद थिएन यद्यपि भुटान र चीनबीचको सीमा अझै निर्धारित हुन बाँकी छ । भुटानले यस विषयमा कडा नोट पठाएको छ । नोटमा लेखिएको छ, ‘साकतेङ वन्यजन्तु आरक्ष भुटानको अखण्ड तथा सार्वभौम भूभाग हो ।’
रमाइलो कुरा चाहिँ यो वन्यजन्तु आरक्षमा यसअघि कहिले पनि विदेशी लगानी गरिएको थिएन र अन्तर्राष्ट्रिय मञ्चमा यो परियोजनाका रूपमा पहिलोपटक आएको हो । त्यसैलाई अवसर बनाएर चीनले उक्त भूमिमा दाबी गरेको हो । चीनले आरक्षमा लगानीको विरोध गरेको भए पनि उक्त परियोजनालाई परिषद्का बहुमत सदस्यले पारित गरेका छन् र अन्तिम सारांशमा त्यसलाई उल्लेख समेत गरिएको छ ।
उक्त परिषदमा चीनको प्रतिनिधि भए पनि भुटानको प्रत्यक्ष प्रतिनिधि चाहिँ कोही पनि थिएन । भुटानको तर्फबाट भारतीय अधिकारी अपर्णा सुब्रमणिले प्रतिनिधित्व गरेकी थिइन् ।
जुन महिनाको २ तारिखमा परियोजनागत छलफल चल्दै गर्दा चिनियाँ परिषद्का सदस्य झोङजिङ वाङले भुटानमा रहेको आरक्षमा लगानीमाथि आपत्ति उठाउँदै त्यसलाई औपचारिक रूपमा नोट गर्नुपर्ने बताए । अन्तिम प्रतिवेदनमा त्यसलाई पादटिप्पणीका रूपमा राख्नुपर्ने उनको भनाइ थियो ।
Facebook Comments