एजेन्सी। लामो दूरीको सम्भवतः अन्तर्महादेशीय हाइपरसोनिक (ध्वनिको गतिभन्दा तीव्र) हतियार बनाउनमा सफलता हासिल गरेको चिनियाँ वैज्ञानिकहरूले दाबी गरेका छन् ।
ग्लोबल टाइम्स पत्रिकामा प्रकाशित एक खबरअनुसार, स्क्य्रामजेट भएको हतियारसँग चीनमा विद्यमान डीएफ–१७ हाइपरसोनिक हतियारभन्दा पाँच गुणा बढीको दायरा छ । त्यसो हो भने यसलाई अन्तर्महादेशीय हाइपरसोनिक क्षेप्यास्त्र बनाउन मिल्छ । अहिले बेइजिङले बनाएको स्क्य्रामजेटको परीक्षण गर्दा त्यो लगातार ६०० सेकेन्डसम्म निरन्तर उड्न सकेको थियो ।
‘डीएफ–१७ छोटोदेखि मध्यम दूरीको क्षेप्यास्त्र हो र यसमा स्क्य्रामजेट जडान गर्दा यसको दायरा पाँच गुणा बढ्छ र यो अन्तर्महादेशीय बन्छ,’ ग्लोबल टाइम्समा लेखिएको छ ।
चीनको यो दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन तर यसले अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षामा नयाँ जोखिम ल्याएको छ । अमेरिकाले अहिले हाइपरसोनिक आक्रमणको प्रतिकार गर्न वा त्यसलाई नष्ट गर्न नयाँ प्रविधि बनाइरहेको छ । चीनको नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको दायरा फराकिलो हुनुका साथै मारक क्षमता पनि उच्च रहेको ग्लोबल टाइम्स लेख्छ ।
चीनले सन् २०१९ मा डीएफ–१७ बूस्ट–ग्लाइड क्षेप्यास्त्र औपचारिक रूपमा अनावरण गरेको थियो । अहिले चीनले सिनकोङ–२ नामक वेवराइडर हाइपरसोनिक फ्लाइट भेहिकल पनि बनाइरहेको ग्लोबल टाइम्समा लेखिएको छ ।
Facebook Comments