पाकिस्तानका १५० विमान चालकको लाइनसेन्स नक्कली !

एजेन्सी । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सका विमानका १५० पाइलटका शंकास्पद लाइसेन्सहरु भेटिएपछि विमानहरु ग्राउन्डेड गरिएका छन् । पाकिस्तानका उडड्यनमन्त्री गुलाम सरवार खानले राष्ट्रिय सभामा धेरै पाइलटहरुसँग शंकास्पद लाइसेन्स भएको खुलासा गरेपछि पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सले यस्तो घोषणा गरेको हो ।

२२ मेमा कराँचीमा ९७ यात्रुको ज्यान जाने गरी विमान दुर्घटना भएपछि खानले संसदमा प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । जसमा उक्त दुर्घटनाको कारण मानवीय गल्ती भएको निष्कर्ष निकालिएको थियो ।

२२ मेमा दुर्घटना भएको विमानका चालकलाई ‘ओभर कन्फिडेन्स’ र फोकसको अभाव भएको रिपोर्टले जनाइएको छ । पीआईएका प्रवक्ता अब्दुल्लाह हाफिजले १५० पाइलटलाई विमान उडाउन रोक लगाइएको जानकारी दिए । कम्पनीले उनीहरुको लाइसेन्सको जाँच गरिरहेको बताए ।

गलत लाइसेन्स भएका पाइलटलाई विमान उडानमा प्रतिबन्ध लगाइने बताइएको छ । उडड्यन विभागले उनीहरुको लाइसेन्सको अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।

Facebook Comments