अस्ट्रेलियामा चीनसँग मिलेर राष्ट्रहितविरुद्ध लागेको भन्दै सांसदको घरमा छापा

एजेन्सी । अस्ट्रेलियाको गुप्तचरका कर्मचारी र प्रहरीले विपक्षी पार्टीका सांसदको घरमा छापा हानेका छन् । उनीहरुले चिनसँग मिलेर राष्ट्रहितविरुद्धका गतिविधि सञ्‍चालन गरेको आरोपको अनुसन्धानका लागि सांसदको घरमा छापा हानेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग साँठगाँठ भएको भन्दै न्यु साउथ वेल्सका सांसद साओक्विट मोसेलमानेको सम्पत्तिको छानबिन गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एआईएसओ) ले अनुसन्धानकै क्रममा सिड्नीमा खोजी कार्य भइरहेको बताएको छ ।

उनले संसदमा र लेबर पार्टीभित्र चीन समर्थित गतिविधिहरु गर्ने र चीन समर्थित मुद्दाहरु उठाउने गरेको बताइएको छ । लेबर पार्टीकी नेतृ जोडी म्याकीले आफूलाई मोसेलमानेको घर र कार्यालयमा अनुसन्धान गर्ने विषयमा जानकारी गराएको र उनले ती सांसदको निलम्बनको प्रक्रिया अघि बढाएको बताएको छन् ।

उनले भनिन्, “यसले हाम्रो ध्यानाकर्षण गराएको छ । हरेक सांसदले आफ्नो मुलुक र राज्यप्रति बफादार हुनुपर्छ ।”मोसेलमानेले कोरोना भाइरस महामारीमा सी जिनपिङको नेतृत्वको प्रशंसा गर्ने गरेका थिए । उनले सन् २०१८ मा ‘विश्वको नयाँ संरचना’ सम्बन्धी मन्तव्यसमेत दिएका थिए ।

पछिल्लो समय चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा दरार पैदा भएको छ।

Facebook Comments