परासी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको दोस्रो बरियातमा रहेका कैलाश महतोसहित उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
डा. राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धमा महतो सहसंयोजक थिए । ह प्रेस विज्ञप्ति मार्फत राजीनामा दिने अन्य केन्द्रीय सदस्यमा सतिला यादव (सिरहा), दिनेश प्रसाद यादव(बारा), सञ्जय कुमार साह(पर्सा), हकिकुल्लाह मुसलमान(कपिलवस्तु) र नवलपरासीका ध्रुव प्रसाद कहाँर र राजमति पासवान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
केन्द्रीय सदस्यसँगै पश्चिम नवलपरासीमा गठन भएको जनमत पार्टीको जिल्ला समिति समेत विघटन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २३ सदस्यीय जिल्ला समितिमा २ सदस्यबाहेक सबैले पार्टी परित्याग गर्दै राजनीनामा दिएको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्ने सबैले २०७६ फागुन २४ गते गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि पनि डा. राउतले एकलौटी रुपमा निर्णय गर्ने र पार्टीभित्र गुटको राजनीतिक गर्दै नेता तथा कार्यकर्तालाई कामदारको रुपमा काम गराउन खोजेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन्।
Facebook Comments