एशियाली मुलुकमा चीनको खतरा बढ्यो, हामी सेना पठाउँछौं: अमेरिका

अमेरिका, १२ असार । भारत–चीनबीचको तनावलाई अमेरिकाले कसरी हेरिरहेको छ भन्ने विषयमा थुप्रैको निगरानी छ ।

तर पूरा विवादमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोको बयान भारतका लागि खासै उत्साहजनक थिएन । तर बिहिबार माइक पोम्पियाले जे भने त्यसलाई निकै महत्व मानिएको छ ।

माइक पोम्पियोले ब्रसेल्स फोरममा चीनको भारत र दक्षिण–पूर्वी एशियामा बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिकाले युरोपमा आफ्नो सेनाको संख्या कम गर्ने निर्णय गरेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले जर्मनीमा आफ्नो सेनाको संख्या घटाउने जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पको यो निर्णयमा युरोपेली युनियनले आफ्नो असन्तुष्टि पोखेका थिए ।

पोम्पियोका अनुसार चिनियाँ पार्टीको कारवाही भारत, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा हो । अमेरिकी विदेशमन्त्रीले भने, ‘चीनको पिपल्स लिबरेशन आर्मीको सामना गर्नका लागि तयार हुनुपर्ने कुरामा हामी सुनिश्चित हुन चाहन्छौं । मलाई लाग्छ कि हाम्रो समयको यहि चुनौती हो र हाम्रो तयारी पूरा छ कि छैन भन्ने कुरा हामी सुनिश्चित गर्न चाहन्छौं ।’

चीनको खतरा

अमेरिकी विदेशमन्त्रीले चीनबाट छिमेकी मुलुकलाई खतरा भएको र यसमा अमेरिकाले निगरानी गरिरहेको बताएका छन् । पोम्पियोका अनुसार अमेरिका चीनको खतराको विषयमा इयूसँग पनि कुराकानी गर्ने तयारीमा छ ।

अमेरिकी विदेशमन्त्रीले भारत–चीन सीमामा रक्तपातपूर्ण झडप, चीनको साउथ चाइना सीमा हस्तक्षेप र कथित रुपमा अरुलाई क्षति पुर्‍याउने चीनको आर्थिक नीतिमा खुलेर कुरा गरेका छन् । पोम्पियोले भने, ‘ट्रान्स अटलान्टिक अलायन्सले चीनको खतराको विषयमा साझा समझदारी बन्न मद्दत मिल्नेछ ।’

पोम्पियोले इयू र अमेरिकालाई चीनको खतराको विषयमा मिलेर काम गर्न आवश्यक भएको बताउँदै यसो गरे मिलेर कारवाही गर्न सकिने धारणा व्यक्त गरे । उनले यूरोपमाथि सधैं चीनको विषयमा उदार हुनेको आरोप लागिरहने बताए ।

माइक पोम्पियोलाई के चिनियाँ टेलिकम्युनिकेशन कम्पनी ह्वावे पनि चिनियाँ सर्भिलान्स स्टेटको हिस्सा हो ? भनेर प्रश्न सोधियो । यो प्रश्नको जवाफमा पोम्पियोले भने, ‘चीनका सुरक्षाकर्मी यो कम्पनीका मुख्यालयमा काम गर्छ । चिनियाँ कानूनको रुपमा ह्वावेले कुनै पनि डाटा माग गर्दा दिन सक्छ । चिनियाँ कम्युनिष्ट पार्टीको मागमा यो कम्पनीले निजी डाटा पनि दिन्छ ।’

युरोपबाट सेना कम गर्ने अमेरिकी तर्क

जर्मनीमा अमेरिकाले आफ्नो सेनाको संख्या ५२ हजारबाट २५ हजार गर्ने तयारीमा छ । पोम्पियोले अमेरिकाको यो निर्णयमा भने, ‘केहि विशेष स्थानमा अमेरिकी सैनिकको संख्या कम हुनेछ । जहाँ बढी आवश्यक छ त्यहाँको खतराको सामना गर्नका लागि यस्तो गरिएको हो ।

म चीनको कम्युनिष्ट पार्टीको खतराबारे कुरा गरिरहेको छु । अहिले चीनबाट भारतलाई खतरा छ । भियतनामलाई खतरा छ । यसबाहेक मलेशिया, इन्डोनेशिया, फिलिपिन्स र साउथ चाइना सीमा पनि चुनौती बढिरहेको छ । सुरक्षाको विषयमा अब इलाका बढेका छन् । अमेरिकाको निर्णयमा ती इलाकामाथि पनि निगरानी छ जहाँ चीनको खतरा बढेका छन् । हामी चाहन्छौं कि हाम्रा पार्टनरबीच यस विषयमा कुरा होस् ।’

युरोपमा सेना कम गर्ने विषयमा ट्रम्पको आलोचना भइरहेको छ । उनका आलोचकका अनुसार यसले युरोपमा रुसको खतरा बढ्ने छ । यद्यपि, पोम्पियो यो तर्कसँग सहमत छैनन् । उनका अनुसार लामो समय यसको समीक्षाको आवश्यकता थियो ।

अमेरिकी विदेश मन्त्रीले संसारभरी अमेरिकी सेनाको उपस्थितिको विषयमा लामो समयदेखि कुनै समीक्षा नभएको उनले बताए ।

पोम्पियोले भने, ‘विभिन्न समयमा यस्तो निर्णय लिइन्छ । के हामीले रणनीतिक रुपमा सेनाको तैनाथीको समीक्षा गर्नु पर्दैन ? हामीले खतरा र विवादलाई गम्भीरतापूर्वक सोच्नुपर्छ । कुनै खतरा कत्तिको गम्भीर छ भनेर हामीले हेर्नुपर्छ र आफ्नो स्रोत साधन त्यहि अनुरुप प्रयोग गर्नुपर्छ । यो स्रोत साधन गुप्तचर, वायुसेवा वा मरिन्स सबैमा लागू हुन्छ ।’ स्रोतः बीबीसी

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.