काठमाडौं । भारतीय विदेश मन्त्रालयले चीनले विवादित सीमा क्षेत्रमा हतियारसहित ठूलो संख्यामा सेना परिचालन गरेको दावी गरेको छ ।
विदेश मन्त्रालयले चीनले गत साता हिंसात्मक झडपको शुरुवात गरेको र सीमामा तनाव सिर्जना गराएको आरोप लगाएको छ । ‘यो घटनाको शुरुवात मेको पहिलो सातादेखि भएको थियो । त्यस समय चीनले एलएसीमा ठूलो संख्यामा सेना परिचालन गर्नुका साथै हतियार र सैन्य संरचना स्थापना गरेको थियो’, मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडिया ब्रिफिङका क्रममा भने ।
यसरी सीमा क्षेत्रमा तनाव सिर्जना गराउनु सन् १९९३ मा भएको सम्झौताको उल्लंघन भएको बताएका छन् । सन् १९९३ मा दुवै पक्षले एलएसीमा कुनै पनि सैन्य गतिविधि नगर्ने सम्झौता भएको थियो । उनले चिनियाँ गतिविधिका कारण भारतले उक्त क्षेत्रमा थप सेना परिचालन गर्नुपर्ने स्थिति सिर्जना भएको बताएका छन् । तर, चीनले भने भारतले एलएसी उल्लंघन गरेको भन्दै झडको आरोप भारतमाथि लगाइरहेको छ ।
जुन १५ को राति पूर्वी लद्दाखमा भारत–चीन सेनाबीच भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनतर्फका सेनाको विषयमा सार्वजनिक गरिएको छैन । स्याटेलाइट तस्बिरका अनुसार चीनले उक्त क्षेत्रमा नयाँ संरचनाहरु निर्माण गरेको जनाइएको छ । भारतले उक्त संरचनाहरु एलएसीको भारतीय क्षेत्रमा बनाएको आरोप लगाइरहेको छ । स्रोत : अलजजिरा
Facebook Comments