बालुवाटार बैठक : ओलीलाई माधवले रोक्न खोजेपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको प्रारम्भमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने कार्यसूची थियो।

कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा वरिष्ठ नेता माधव नेपाल बोलेपछि भनाभन भएको छ। बैठकमा सरकारले गरेका कामको विषयमा प्रधानमन्त्रीले धारणा राख्दै गर्दा बीचमै नेता नेपाल बोलेपछि भनाभन भएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

पार्टी एकता जस्तो महत्वपूर्ण काम भएको, यसमा नेतृत्वले जोखिम मोलेर निर्णय गरेको, त्यसको परिणाम स्वरुप पार्टीले चुनावमा बहुमत प्राप्त गरेको र यसको सम्पूर्ण जस पार्टी नेतृत्वले लिएको भनेर ओलीले आफ्नो नेतृत्वमा भएका उपलब्धि सुनाउँदै गर्दा बीचमै नेपालले जवाफ दिएपछि भनाभन भएको हो।

‘अरुले पनि काम गरेका छन्। अरुले गरेका काम चाहिँ देख्दै नदेख्ने ?’, प्रधानमन्त्री बोल्दाबोल्दै बीचमै नेता नेपालले भने। वरिष्ठ नेता नेपालले प्याच्च बोलेपछि प्रधानमन्त्री ओलीले जवाफ फर्काए, ‘मान्यजीले पनि बोल्न पाउनुहुन्छ। यो कुरा पनि मैले भन्नु पर्छ र ! आफ्नो पालोमा बोले भइगो नि !’

ओलीको जवाफपछि नेता नेपाल केही समय शान्त भए। प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधिमा सडकलाई बालबच्चा र वृद्धवृद्धाबिहीन बनाएको, त्यहाँ कोही भोकभोकै नभएको र सडकमा खाल्डाखुल्डी नभएको दाबी गरेपछि नेता नेपाल फेरि बीचमै बोले, ‘मेरो निर्वाचन क्षेत्रको साँखु हिँड्नुहोस् । म तपाईंलाई खाल्डाखुल्डी देखाइदिन्छु।’

नेता नेपाल लगातार बोल्न थालेपछि भने प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनलाई निरन्तरता दिएका थिए। बैठकमा ओलीले पार्टी नेतृत्वलाई खुइल्याएर कोही माथि नपुग्ने भन्दै त्यस्तो भ्रम नपाल्न सुझाव दिए।
‘नेतालाई खुइल्याएर कोही माथि पुग्दैन। अहिले पनि पार्टीमा गुटबन्दी र चलखेल चल्दै छ’, ओलीले भने, ‘नेतृत्वलाई खुइल्याएर आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नुहोस्।’

बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै चिज एउटै व्यक्तिले गरेको छ भन्नु गलत भएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीतर्फ इंगित गर्दै आफूले मात्र सबै कुरा गरेको छु भन्नु गलत भएको बताए। पार्टी नेतृत्व र समूह नै साथमा भएको कुरा बिर्सनु नहुनेमा उनले जोड दिए।

प्रचण्डले २०७५ जेठ २ गते भएको आलोपालो नेतृत्वको सहमति छोडेर आफूले गल्ती गरेकोसमेत स्वीकार गरेका छन्। उक्त सहमतिमा अढाइ–अढाइ वर्ष आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो।

उक्त सहमति २०७६ असोज ४ मा प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएपछि कार्यान्वयन हुन सकेको थिएन। प्रचण्डले पहिलो सहमति छोडेर गल्ती गरियो भन्ने लागेको बैठकमा बताएका हुन्।

बुधबारको बैठकमा प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए। कार्यसूचीमाथि बैठकमा सहभागी सहभागी नेताले धारणा राखेका थिए। कार्यसूची अनुसार अध्यक्षद्वले बुधबार नै बोलिसकेका छन्। बैठकले दोस्रो एजेन्डाको रुपमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणका प्रयासमाथि छलफल हुनेछ।

बैठकका थप एजेण्डामा सीमा समस्या समाधान, सरकारको काम, पार्टीको कामको समग्र समीक्षा र एकीकरणको पूर्णता जस्ता विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यसैगरी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

विविध एजेण्डामा रुकुम घटना, नागरिकता सम्बन्धी विधेयकमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। बुधबार अध्यक्षद्वयले सम्बोधन गरेपछि सकिएको बैठक असार १२ गते (शुक्रबार) पुन: बस्नेछ।

Facebook Comments