गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

जनकपुरधाम । बसमा वम विस्फोट गराएको आरोपमा रौतहटको इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरिएको छ । घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर र रौतहट प्रहरीको संयुक्त टोलीले इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । २०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । त्यस बेला शेख गुलाम मोर्चाका जिल्ला नेता थिए । घटनामा उनीहरुको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । त्यहीबेला घटनामा ७ जना संलग्न रहेको खुलेको थियो । ५ जना अझै फरार छन् । ‘गुलाम र साहलाई प्रदेश टोलीले एक सातादेखि पिछा गर्दै आएको थियो,’ डिआईजी सिंहले भने,‘अपराध गर्नेहरु कानुनको फन्दाबाट उम्कन पाउँदैन ।’

तराईमा भूमिगत समूहको गतिविधि उत्कर्षमा पुगेको बेला गुलाम र साह बम विस्फोट, चन्दा आतंकमा पनि संलग्नता रँहदै आएको प्रहरीको दाबी छ । अन्य फरारको खोजी भइरहेको डिआइजी सिंहले वताए । पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरेका छौ,’ सिंहले भने,‘घटना एक दशक अघिको भए पनि सोधपुछ र अनुसन्धानलाई तिब्रता दिन्छौं । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरेरको अनुसन्धान भइरहेको छ ।’ राजधानी दैनिकबाट

Facebook Comments