कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

बुटवल । कपिलबस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

संक्रमीतलाई बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ । कपिलवस्तुमा दुई जना संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।

Facebook Comments