स्कुल पढ्दै गरेकी १३ बर्षीया बालिका आमा बनेपछि गाउँ प्रवेशमा प्रतिबन्ध!

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरकी १३ बर्षीया बालिका आमा बनेकी छन् । बालिकाले आफू आमा बनेपछि आफ्नै गाउँका एक आफन्त (नाता पर्ने) युवकका विरुद्द जवर्जस्ती करणीमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

बालिकाले आफ्नै नाता पर्ने एक पुरुष विरुद्ध जवर्जस्ती करणीको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जवर्जस्ती करणी ऐन अन्तर्गत उजुरी प्राप्त भएको प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । ‘जवर्जस्ती करणी ऐन अन्तर्गत उजुरी दिएपछि आरोपित युवकलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ ।’ उनले भने ।

सदरमुकाम बेसीसहर नगरपालिकाकी स्थायी बासिन्दा उनले चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा शल्यक्रियाका माध्ययमबाट छोरी जन्माएकी थिइन् । बलिकाकी आमाका अनुसार अस्पतालबाट डिष्चार्ज भएर सुत्केरी बालिकालाई लिएर घर लम्जुङ जान लागेकी थिइन् । तर, गाउँलेले गाउँ नआउन दबाब दिएपछि बेसीसहरमा डेरा गरी बस्न बाध्य भएको बताइन् । सुत्केरी बालिकाले यस बर्ष ८ कक्षा उत्तिर्ण गरेकी छिन् । उनको जन्ममिति २०६४ भदौ रहेको छ ।

आफ्नो गाउँमा जान सहज नभएपछि उनीहरु मानवअधिकारबादी संस्था र गैरसरकारी संस्थाको सहयोगमा बेसीसहरमा डेरा गरी बस्न बाध्य भएका छन् । जिल्ला स्थित ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), इन्सेक लमजुङका प्रतिनिधि दलबहादुर मजाकोटी, बेसीसहर नगरपालिकाको सहयोगले बालिका, उनको छोरी र आमा तिनैजना अहिले बेसीसहरमा डेरा गरी बसेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र कोपिला नेपालको सहयोगमा पोखरास्थित कोपिला नेपालले सञ्चालन गरेको ‘सेफ होम’मा बालिका र उनकी छोरीलाई पठाउने तयारी गरिएको इन्सेकका जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले जानकारी दिएका छन् । राजधानी दैनिक

Facebook Comments