शनिबार कुन- कुन जिल्लामा भेटिए कोरोना संक्रमित?

काठमाडौं । एकैदिन थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो।

उनका अनुसार आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिलासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, कोशी अस्तपालको प्रयोगशालामा झापाका १ जना र मोरङका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा पर्साका ६ जना र बाराका १ जनामा कोरोना संक्रमण भएको पाइएको छ। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परीक्षणमा पर्वतका ४ जना र नवलपरासी पश्चिमका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयले जानकारी दिएको हो।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका ५ जना र दाङका २ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा दैलेका ३० जना र सुर्खेतका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, भेरी अस्तपालको प्रयोगशालामा बाँकेका १८, रोल्पाका १७ जना र बर्दियाका ६ जनामा पनि कोरोना संक्रमण पाइएको छ। यस्तै गरी त्रिवि शिक्षण अस्तपाल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका १ जना र सर्लाहीका २ जनासमेत कोरोना संक्रमित देखिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना, कपिलवस्तुका २०, र रुपन्देहीका ५ मा समेत संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ४८ र सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

थप दुई कोरोना संक्रमितको मृत्यु, १८ पुगे मृतक
काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए।

Facebook Comments