काेराेनाले जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि घर फर्के

बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् ।

जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् ।

अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए ।

त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको डा.खनालले बताए ।

Facebook Comments