पदबाट हटाइएका चिनियाँ विदेश मन्त्रीको घटुवा

FILE PHOTO: Chinese Foreign Minister Qin Gang attends a press conference after talks with his Dutch counterpart Wopke Hoekstra in Beijing, China, May 23, 2023. REUTERS/Thomas Peter/Pool/File Photo

एजेन्सी । गत वर्ष एक महिनासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि चिनियाँ विदेश मन्त्री छिन काङलाई पदबाट हटाइएको थियो। हाल आएर उनलाई एक प्रकाशन गृहमा निम्न स्तरको हैसियतमा घटुवा गरिएको द वासिङटन पोस्टले जनाएको।

पोस्टका अनुसार गत वर्ष जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि छिन काङ सार्वजनिक रूपमा हप्तौंसम्म देखिएका थिएनन्। सुरूमा उनी स्वास्थ्यका कारण नदेखिएका भनिएको थियो। तर एक महिनापछि कुनै कारण नदेखाइ उनलाई विदेश मन्त्रीबाट हटाइएको थियो।

कम्युनिस्ट पार्टीले उनलाई पछि केन्द्रीय सदस्यबाट पनि हटाएको थियो। छिन काङलाई हटाउनेबारे यो वर्ष जुलाइ सुरूमा भएको पोलिटब्युरो बैठकमा सल्लाह भएको थियो। पछि केन्द्रीय समितिको चारदिने तेस्रो प्लेनरी सत्रले सो निर्णय पारित गरेको थियो।

कम्युनिस्ट शासन भएको चीनमा शक्तिशाली पदबाट हटाइएका नेताहरूलाई भ्रष्टाचार वा अरू कुनै अभियोग लगाएर जेल हाल्ने गरिन्छ। तर हटाइएको निर्णयमा उनले राजीनामा दिएको जनाइएको र उनलाई कमरेड भनेरै सम्बोधन गरिएकाले पार्टीबाट भने ननिकालिएको अनुमान गरिएको थियो।

द वासिङटन पोस्टले दुई पूर्वअमेरिकी अधिकारीलाई उद्धृत गर्दै ५८ वर्षीय छिन काङलाई केही महिनाअघि घटुवा गरेर विदेश मन्त्रालय अन्तर्गतको ‘वर्ल्ड अफेयर्स प्रेस’ मा निम्न ओहोदामा खटाइएको लेखेको छ। यसले उनलाई जेल हाल्ने खतरा टरेको तर उनको राजनीतिक भविष्य सकिएको ती अधिकारीले दाबी गरेका छन्।

छिन काङलाई विदेश मन्त्रीबाट हटाउँदा कुनै कारण नदेखाए पनि पार्टीका वरिष्ठ नेताहरूलाई भने ‘जीवनशैलीमा समस्या’ भएकाले हटाइएको भनेर ब्रिफिङ गरिएको थियो भनेर पश्चिमा मिडियाहरूले लेखेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीले यौनजन्य विचलनलाई ‘जीवनशैलीमा समस्या’ भन्ने गर्छ। छिन काङको विवाहइतर सम्बन्धका कारण उनलाई विदेश मन्त्रीबाट हटाइएको चर्चा चलेको थियो। त्यतिबेला उनलाई विदेश मन्त्रीबाट हटाइए पनि पार्टीको पदबाट हटाइएको थिएन।

राष्ट्रपति सी चिनफिङसँग निकट मानिएका छिन काङले छिटो छिटो प्रगति गरेर ५७ वर्षकै उमेरमा विदेश मन्त्री बनेका थिए। उनले सी राष्ट्रपति बनेपछिका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउन प्रमुख भूमिका खेल्थे। कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सी चिनफिङले उनलाई राजदूत बनाएर (२०२१ जुलाइमा) अमेरिका पठाएका थिए। त्यसअघि अमेरिका लगायत पश्चिमा राष्ट्रको कटु आलोचना गर्ने उनले अमेरिकामा राजदूत हुँदा भने त्यसो गरेनन। बरू दुई देशको सम्बन्ध सुधार्न प्रयास गरेका थिए।

उनी पहिले जस्तो छुच्चो नभए पनि पश्चिमाले धेरै चासो राख्ने तिब्बत, सिन्जियाङ, हङकङ र ताइवान लगायतका मुद्दामा चीनको कुरा बलियो रूपमा राखेका थिए। उनको कामबाट खुसी भएर १७ महिनामै सी चिनफिङले उनलाई विदेश मन्त्रीमा बढुवा गरेका थिए।

छिन काङकी श्रीमती पनि प्रथम महिलासँग निकट मानिन्थिन्। पछि छिन काङ एकाएक हप्तौंसम्म सार्वजनिक रूपमा देखिएका थिएनन् र उनलाई विदेश मन्त्रीबाट पनि हटाइएको थियो। उनको एक टेलिभिजन प्रस्तोतासँगको विवाहइतर सम्बन्धका कारण हटाइएको दाबी गरिएको थियो। उनीहरूको अमेरिकामा एक छोरा जन्मिएको पनि चर्चा थियो।

अरू चिनियाँ नेताहरूको विवाहइतर सम्बन्ध भए पनि प्रायः गोप्य रहन्छ। तर ती टेलिभिजन प्रस्तोताको जीवनशैली सेलेब्रेटीको जस्तो रहेको र उनले विदेशी नेता-अधिकारीसँगको भेट र सानो छोरासँग निजी जेटहरूमा यात्रा गरेका फोटाहरू सामाजिक सञ्जालमा राख्ने गरेकाले पनि छिन काङको सम्बन्ध पार्टीलाई बिझाएको थियो।

छिन काङ जस्तै ती टेलिभिजन प्रस्तोता पनि सार्वजनिक रूपमा देखिएकी छैनन्।

विदेश मन्त्रीबाट हटाइएपछि छिन काङ जेलमा छन् वा जीवितै छन् कि छैनन् भन्ने केही थाहा थिएन। केन्द्रीय समितिको चारदिने तेस्रो प्लेनरी सत्रले उनलाई केन्द्रीय सदस्यबाट हटाउँदा मात्रै उनी जीवितै रहेको खुलेको थियो। अहिले भने पोस्टले उनको अवस्थाबारे थप खुलासा गरेको हो। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

Facebook Comments