कर्णालीमा मात्रै ७०० बढी कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ ।