कर्णालीका सभामुख शाही चढ्ने गाडीमाथि अख्तियारले थाल्याे छानबिन

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही चढ्ने गाडीमाथि छानबिन थालेकाे छ। सरकारी खर्च निर्देशिकाविपरीत खरिद गरिएकाे उक्त गाडीमाथि अख्तियारले छानविन थालेकाे हाे।

निर्देशिका उल्लंघन गर्दै गाडी गरिद गरिएकाले प्रदेशको आर्थिक मामिला मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको थियो । त्यसपछि सभामुख शाहीको दबाबमा खर्च निर्देशिका नै संशोधन गरिएको थियो । तर, खरिद प्रक्रिया अघि बढाएपछि मात्रै निर्देशिका संशोधन गरिएको हो ।

२० मंसिर ०७६ मा गाडी खरिदका लागि टेन्डर सूचना निकालिएको थियो भने त्यसको नौ दिनपछि अर्थात् २९ मंसिर ०७६ मा निर्देशिका संशोधन गरिएको थियो । निर्देशिका संशोधन गरेर त्यसअघिको खरिद प्रक्रिया वैध नहुने सरकारी अधिकारीहरूकै तर्क छ ।

आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सभा सचिवालयबाट गाडी खरिदसँग सम्बन्धित कागजात मागिएको बताए । थप कागजात माग गर्दै अख्तियारले सोमबार पनि सचिवालयलाई पत्राचार गरेको छ ।

कर्णाली सरकारले बनाएको खर्च मापदण्ड तथा निर्देशिकाले अधिकतम ७० लाखसम्मको गाडी खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, प्रदेश सभा सचिवालयले निर्देशिका उल्लंघन गर्दै सभामुख शाहीका लागि एक करोड ७२ लाखको गाडी खरिद गरेको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.