बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने

काठमाडौं । बुस्टर मात्रा लगाउन नमिल्ने चीनले दिएको ४० लाख मात्रा ‘सिनोभ्याक’ खोप खेर जाने अवस्थामा पुगेको छ। चीन सरकारले अनुदानस्वरुप दिएको उक्त सिनोभ्याक खोप नेपालमा प्रयोग गर्न नमिल्ने हुँदा खेर जाने अवस्थामा पुगेकाे हाे ।

पहिलो र दोस्रो डोज लगाउन मिल्ने भए पनि उक्त सिनोभ्याक खोपको बुस्टर मात्रा लगाउन नमिल्ने खालको भएपछि नेपालमा आएर थन्किएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

उनका अनुसार एक वर्षभन्दा बढी समय भइसक्दा पनि उक्त खोप कहाँ पठाउने भन्ने अझैसम्म टुंगो नलागेपछि खेर जाने अवस्थामा पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार २०७८ साल चैतमा आएको उक्त खोपको ४० लाख मात्राको म्याद सकिन ८ महिनामात्र बाँकी रहे पनि अझैसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन।

बुस्टर मात्राका रूपमा प्रयोग गर्न नमिल्ने र प्राथमिक मात्रा लगाउने नागरिक नभएकाले अन्य देशलाई पठाउन वा चीन नै फिर्ता गर्न गत कात्तिकमै सल्लाहकार समितिले निर्णय गरे पनि हालसम्म कुनै टुंगो नलागेपछि खोप खेर जाने अवस्थामा पुगेको हो।

व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार उक्त खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा त्यसै थन्किएर बसेको छ अब केही महिनामा नै प्रयोग गर्न नेपाल बाहेक अन्य देशमा नलगे खेर जानेछ ।

बुस्टरका रूपमा एकभन्दा बढी भाइरसको स्ट्रेनसँग जुध्न सक्ने बाइभेलेन्ट खोप प्रयोगमा आइसकेकाले सिनोभ्याक बुस्टरका रूपमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र खोप सल्लाहकार समितिको निर्देशन दिएको थियो।

निर्देशनसँगै खोप स्टोरमा थन्किएर खेर जाने भएपछि मन्त्रालयले विभिन्न देशलाई खोप दिन पत्र पठाए पनि कसैले लैजाने चाहना नदेखाएकाले अहिलेसम्म कहाँ पठाउने भन्ने टुंगो लागेको छैन।

विज्ञहरुले उक्त खोप नल्याउन सुझाव दिए पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले सहयोग खोप अनुदान दिने घोषणा गरेको हुँदा उक्त खोप नेपालले स्वीकारेर ल्याउन दबाब दिएपछि उक्त खोप २०७८ चैतमा नेपाल ल्याइएको थियो।

नेपालमा हाल कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको १५ लाख मात्रा फाइजरको वाईभ्यालेन्ट खोप बुस्टर मात्रा लगाउन प्रयोग भइरहेको छ। अब छिट्टै फेरि १५ लाख मात्रा यही खोप आउने प्रकृयामा रहेको समेत डा. चौरासियाले बताए।

हुन त पछिल्लो समय नेपालमा कोभिड संक्रमणको दर घट्दै गएको छ भने ८३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन्। यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड– १९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणासमेत गरिसकेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.