विप्लव नेकपाका केन्द्रीय सदस्य शर्मा पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो।

उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अस्पतालमै छन् । शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए। सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

Facebook Comments