स्थानीय तह आफै खरिद गर्दै स्वाब सङ्कलन गर्ने भिटिएम

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टिनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न भिटिएम खरिद गरेका छन् । सङ्घीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका हुन् ।

सुनवल नगरपालिकाले ५०० र सुस्ता गाउँपालिकाले ४५० भिटिएम खरिद गरेका हुन् । खरिद गरिएको भिटिएमलाई क्यारेन्टिनमा बसेकाको स्वाबको नमूना सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइने छ ।

जिल्लाका अन्य स्थानीय तहले समेत भिटिएम खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन् । यस जिल्लामा तीन नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तह छन् । यस जिल्लामा १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित रहेका छन् ।

चार आइसोलेशन सेन्टर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा हालसम्म विभिन्न चार स्थानमा आइसोलेशन सेन्टर स्थापना भएका छन् । पछिल्लोपटक सुस्ता गाउँपालिकाको वेलवानीस्थित स्वास्थ्य चौकीमा १० श्ययाको र रामग्राम नगरपालिकाको पाल्ही बहुमुखी क्याम्पसको भवनमा ५० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको हो ।

यसअघि सुनवल नगरपालिकाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा २५ श्ययाको आइसोलेशन र बर्दघाटस्थित शहीदस्मृति सामुदायिक अस्पतालमा चार श्ययाको आइसोलेशन रहेको छ । यद्यपि यस स्थानको आइसोलेशनको श्यया क्षमता विस्तार गर्ने योजना रहेको बर्दघाट नगरपालिकाले जनाएको छ । जिल्लामा हालसम्म एकजना १५ वर्षीय किशोरीसहित १९ कोरोना सङ्क्रमित फेला परिसकेका छन् । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.