कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

काठमाडौं– विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहँदा डेल्टा स्ट्रेनले पनि अहिले जोखिम निम्त्याइरहेको छ। यसबीच एक अध्ययनले अमेरिकामा डेल्टा भेरियन्टका कारण आएको कोरोनाको लहरमा पूर्वसंक्रमितहरु खोप लगाउनेभन्दा बढी सुरक्षित भएको देखाएको छ।

संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।

एनडीटीभीमा प्रकाशित समाचार अनुसार कोरोना संक्रमण भएपछि शरीरमा बन्ने प्राकृतिक प्रतिरोधक क्षमता कोरोना भ्याक्सिनको तुलनामा बढी प्रभावकारी हुन्छ। अमेरिकामा गरिएको उक्त अध्ययनले पनि यसलाई पुष्टि गरेको छ। तर, खोप नलगाउनेहरूमा भने संक्रमण भइहाले अस्पताल भर्ना हुनुपर्ने, दीर्घकालीन असर गर्ने र मृत्यु हुने दर बढी हुने पाइएको छ।

‘युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन (सीडीसी)’का अनुसार भाइरसले निरन्तर आफ्नो स्वरूप परिवर्तन गरिरहेको हुन्छ, जसमा कोभिड–१९ संक्रमण निम्त्याउने भाइरस पनि पर्छ। सीडीसीले भनेको छ, ‘खोप लगाएर प्राप्त सुरक्षा र संक्रमण भएपछि शरीरमा बन्ने रोग प्रतिरोधात्मक क्षमताका कारण हुने सुरक्षाको स्तरमा अध्ययन गर्दा फरकपन पाइएको छ। तर, अहिले कोभिडबाट बच्न सबैभन्दा सुरक्षित उपाय भने खोप लगाउनु नै हो।’

यो अध्ययन ओमिक्रोन भेरियन्टको उदय हुनुभन्दा पहिले नै गरिएको थियो। ओमिक्रोन भेरियन्टले खोप र संक्रमणपछि शरीरमा उत्पन्न हुने ‘इम्युनिटी’ दुवैलाई कमजोर देखाएर मानिसलाई निरन्तर संक्रमित बनाइरहेको छ। ३० मेदेखि ३० नोभेम्बर २०२१ बीच अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा संक्रमितहरुमा गरिएको अध्ययनअनुसार डेल्टा भेरियन्टको कहर आउनुअघि खोपले धेरै मात्रामा प्रतिरक्षा गरेको थियो। संक्रमणपछि शरीरमा बन्ने एन्टिबढीको तुलनामा खोप नै बढी प्रभावशाली पाइएको थियो। तर, गत वर्षको जुनको अन्त्य र जुलाईमा कोरोना भाइरसमा आएको बदलाव र डेल्टा भेरियन्टको आतंकपछि भने खोपको प्रभावकारितामा पनि परिवर्तन आएको थियो।

गएको अक्टोबरको सुरुवातको तथ्यांक अनुसार खोप नलगाएका र कोरोना संक्रमण पनि नभएका व्यक्तिमा संक्रमण उच्च थियो। खोप लगाउनेमा भने यसको असर कम देखिएको थियो। क्यालिफोर्नियामा खोप लगाएका मानिसहरूमा ६ प्रतिशत र न्युयोर्कमा ५ प्रतिशतलाई कम संक्रमण पुष्टि भएको थियो। उनीहरुमा पनि पहिल्यै कोरोना संक्रमण भएकामा यो संख्या थप कम पाइएको थियो। खोप नलगाएका र कोरोना संक्रमण पनि नभएकाहरूभन्दा खोप लगाएका वा खोप नलगाए पनि पहिल्यै कोरोना संक्रमण भएकामा तुलनात्मक रूपमा कम संक्रमण देखिएको थियो।

खोपसँगै पूर्वसंक्रमितहरु कोरोना भाइरसको संक्रमणको जोखिमबाट अरूको तुलनामा बढी सुरक्षित हुने देखिएको छ। अस्पतालमा भर्ना हुने बिरामीमा पनि यो प्रवृत्ति देखिएको छ।

सीडीसीले गरेको अध्ययनमा मुख्य गरी डेल्टा भेरियन्टका संक्रमितहरुको तथ्यांकलाई विश्लेषण गरिएको थियो। जसमा यो भेरियन्टको उदय हुनुअघि खोपको प्रभावकारिता धेरै थियो। तर, यो भेरियन्ट आएपछि प्राकृतिक रुपमा शरीरमा निर्माण भएको एन्टिबडीको प्रतिरोधात्मक क्षमता बढी प्रभावकारी देखिएको थियो।

मिडआर्किभमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार प्राकृतिक रुपमा शरीरमा बनेको इम्युनिटी खोप लगाएपछि बन्ने इम्युनिटीभन्दा दीर्घकालीन र प्रभावकारी हुन्छ। इजरायलमा गरिएको उक्त अध्ययनअनुसार ‘प्राकृतिक रुपमा विकसित रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म रहन्छ र रोगसँग लड्ने क्षमता पनि खोप लगाएर प्राप्त हुने इम्युनिटीभन्दा बढी हुन्छ।’

तर, खोप लगाएका र पूर्वसंक्रमण दुवैबाट शरीरमा उत्पन्न हुने एन्टिबडी र रोग प्रतिरोधात्मक क्षमताको विषयमा अध्ययनहरुले स्पष्ट चित्र देखाएका छैनन्। केही विज्ञहरूले भने खोप नै बढी प्रभावकारी हुने दाबी पनि गरेका छन्। ह्यामबर्ग–एपेन्डोर्फस्थित मेडिकल विश्वविद्यालयमा संक्रामक रोगका प्रमुख रहेका जुलियन सुल्जे सुर वैस्चका अनुसार एक पटक संक्रमण भएर शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमता खोपको एउटा डोज लगाएजत्तिकै प्रभावकारी हुन्छ। कुनै पनि भेरियन्टमा यो लागू हुने उनको भनाइ छ। संक्रमणबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि विस्तारै कम हुँदै जाने उनले बताएका छन्।

त्यस्तै, अमेरिकी सरकारले वृद्ध उमेरका मानिसहरूमा गरेको अध्ययनमा उनीहरूको शरीरमा खोपको प्रभावकारिता बढी देखिएको पाइएको थियो। पूर्वसंक्रमितको तुलनामा कोरोनाविरुद्धको खोप लगाएपछि शरीरमा विकास भएको क्षमताले उनीहरुलाई संक्रमण भइहालेमा गम्भीर अवस्थामा नलैजान मद्दत गरेको पाइएको थियो।

अर्कातिर, डेनमार्कमा गरिएको एक अध्ययनका अनुसार पूर्वसंक्रमितबाट प्राप्त एन्टिबडी कोरोना संक्रमणबाट बच्नका लागि प्रभावकारी पाइएको थियो। वयस्क तथा युवामा यसको प्रभावकारिता ८० प्रतिशतसम्म पाइएको थियो भने ६५ वर्षभन्दा माथिका वृद्धहरूमा पूर्वसंक्रमितबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता ४७ प्रतिशत मात्रै प्रभावकारी देखिएको थियो। २०२० को अन्त्यतिर आएको कोरोना महामारीको दोस्रो लहरमा गरिएका यी अध्ययनमा कोरोनाको पहिलो लहरका क्रममा संक्रमित भएकालाई निगरानीमा राखी अनुसन्धान भएको थियो।

ओमिक्रोनबारे अध्ययन अझै बाँकी
ओमिक्रोनमा खोप वा पूर्वसंक्रमणबाट बन्ने एन्टिबडीमध्ये कुन प्रभावकारी हुन्छ भन्ने यकिन तथ्यांक आएको छैन। ह्यामबर्ग–एपेन्डोर्फस्थित मेडिकल विश्वविद्यालयमा संक्रामक रोगका प्रमुख रहेका जुलियन भने यसमा पनि अन्य भेरियन्टमा जस्तै हुने बताउँछन्। उनका अनुसार विगत केही सातामा ओमिक्रोनबाट संक्रमित भएकाहरू आगामी केही महिनासम्म संक्रमण हुने जोखिमबाट टाढा रहन्छन्। प्राकृतिक संक्रमणका कारण शरीरमा उत्पादित रोग प्रतिरोधात्मक क्षमताले उनीहरूलाई निकट भविष्यमा छोटो समयमै संक्रमित हुन नदिने उनी बताउँछन्।

पूर्वसंक्रमितबाट प्राकृतिक रूपमा शरीरमा निर्माण भएको रोग प्रतिरोधात्मक क्षमता ओमिक्रोन विरुद्ध १९ प्रतिशतसम्म कम प्रभावकारी हुनसक्ने लण्डनमा भएको एक अध्ययनले देखाएको छ। सन् २०२१ को अन्त्यमा लण्डनस्थित इम्पिेरियल कलेजको कोभिड रेस्पोन्स टिमले यो अध्ययन गरेको थियो।

ओमिक्रोनमा कोरोना भाइरसका पूर्वभेरियन्टभन्दा फैलनसक्ने क्षमता अध्याधिक रहेकाले संक्रमणलाई कम गर्न पनि उत्तिकै क्षमताको एन्टिबडी आवश्यक हुन्छ। यसअघि दुई मात्र –पूर्ण मात्रा) वा संक्रमणबाट प्राप्त भएको रोग प्रतिरोधात्मक क्षमताले यसअघिका भेरियन्टसँग जुध्न सकेता पनि ओमिक्रोनको संक्रमणबाट बचाउनेमा स्पष्ट भइनसकेको जुलियन बताउँछन्। उनी भन्छन्, ‘तपाईं यसअघि संक्रमित भए पनि वा पूर्ण रूपमा खोप लगाएपछि बुस्टर लगाएमा यसले फेरि संक्रमण हुनबाट बचाउन सक्छ।’

Facebook Comments