चीनको अघोषित नाकाबन्दीविरुद्ध कमल थापाको आपत्ति

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चीनसँगका नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बिहान ट्वीटमार्फत नेता थापाले नेपालसँग सीमा जोडिएका उत्तरी नाकहरु केही वर्षदेखि विभिन्न बहानामा बन्द हुनु दुःखद् भएको बताउँदै अघोषित नाकाबन्दी खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भारतले गरेको नाकाबन्दीको विषय उल्लेख गर्दै चीनले गरेको अघोषित नाकाबन्दी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

‘विगत केही वर्षदेखि विभिन्न बहानामा नेपालको उत्तर नाका बन्दप्रायः रहेको, यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ । समाचार सत्य हो भने यस्तो अघोषित अप्रत्यक्ष नाकाबन्दी अन्त्य गर्न सरकारको ध्यान जाओस् । दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्ति जनक छ,’ उनले भनेका छन् ।

वि.सं २०७२ सालको भूकम्पपछि चीनले विभिन्न बहाना देखाउँदै नेपालसँगका सीमा नाकाहरुमा कडाई गर्दै आएको छ। यसबाट चीनबाट ल्याएर व्यापार व्यवसाय गर्ने नेपाली व्यापारीहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् ।

Facebook Comments