कांग्रेस प्रवक्तामा यी पाँच नेताको चर्चा, को होलान् देउवाको रोजाई ?

काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्तामा पाँच जनाको केन्द्रीय सदस्यको नाम चर्चामा छ । १४ औं महाधिवेशन सम्पन्न भएसँगै रिक्त रहेको प्रवक्ताका लागि सभापति शेरबहादुर देउवानिकट पाँच नेताको नाम चर्चामा छ ।

कांग्रेस विधानमा पार्टी प्रवक्ता पदमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यबाट एक जनालाई मनोनित गर्ने प्रावधान छ । कांग्रेसको मंसिर २४–२७ सम्म भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसकेको छ । १६८ सदस्यीय कार्यसमितिमा १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने सभापतिमा दोस्रो बढि मत पाएका उम्मेदवार स्वतह केन्द्रीय सदस्य हुने व्यवस्था छ ।

जसले गर्दा सभापतिमा उम्मेदवार डा. शेखर कोइराला केन्द्रीय सदस्य भइसकेका छन् । बाँकी ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् भने बाँकी २० जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । त्यस्तै कोषाध्यक्ष पनि मनोनित गर्न बाँकी छ ।

कांग्रेसको प्रवक्ताका लागि नेताहरु एनपी साउद, रमेश लेखक, उदयशमशेर राणा, डा डीला संग्रौला र रामहरी खतिवडाको नाम चर्चामा छ । पाँचै जना प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्षसमेत रहेका एनपी साउद १४ औं महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए । तर, देउवाको आग्रहपछि उनी महामन्त्रीको दौडबाट पछि हटेका थिए । उनले खुल्ला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएका थिए । पदाधिकारीमा पनि कुनै भूमिका नपाएको भन्दै साउदलाई प्रवक्ता बनाउनुपर्ने एकथरी आवाज कांग्रेसभित्र उठेको छ ।

यस्तै देउवा निकट मानिएका लेखक पनि प्रवक्ताको दौडमा छन् । पार्टी भित्र र बाहिर अन्य दलहरुसँग देउवाको पक्षमा समन्वय गर्नसक्ने नेताका रुपमा चिनिएका लेखकले प्रवक्तामा रुची देखाएका हुन् ।

नेपाल महिला संघको पूर्व अध्यक्षसमेत रहेकी नेतृ संग्रौलाले पनि प्रवक्तामा लबिइङ जारी राखेको स्रोतले जानकारी दियो । पार्टी संगठनमा राम्रो प्रभाव जमाएकी उनले भर्खरै सम्पन्न कांग्रेस महाधिवेशनबाट महिला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएकी थिइन् । महिला सहमहामन्त्रीमा दाबेदार रहेकी संग्रौलाले केन्द्रीय सदस्यमा चित्त बुझाएकी थिइन् । मिडिया फ्रेन्ड्ली रहेकी उनले सभापति देउवासामू प्रवक्ताका लागि लबिइङ गरिरहेको बुझिएको हो ।

देउवा समूहमा युवा नेताका रुपमा परिचित राणालाई प्रवक्ता बनाउनुपर्ने आवाज पनि कांग्रेसभित्र छ । पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी नेपाल दरुणदलका पूर्वअध्यक्षसमेत हुन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा झिनो मतले पराजित उनी १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा चौथो बढी मत पाएका थिए ।

कांग्रेसभित्र कूटनीति र अर्थतन्त्रका क्षेत्रमा विशेष जानकारी रहेका नेताका रुपमा राणा चिनिन्छन् । उनलाई पार्टीभित्र सबै पक्षका नेताहरुले स्वीकार गर्ने र सबैसँग समन्वय गर्न सक्ने नेताको छवी छ, उनको । संस्थापन समूहभित्र युवाका नेताका रुपमा चर्चित राणालाई प्रवक्ता बनाउनुपर्ने नेताहरुको तर्क छ ।

यता युवा नेताको रुपमा चिनिएका रामहरी खतिवडा पनि प्रवक्ताको दौडमा छन् । पूर्वसांसदसमेत रहेका खतिवडा संगठनमा पकट भएका नेताहरुमध्ये एक हुन् । कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका अधिकांश नेताहरु भ्रातृसंस्थाको महत्वपूर्ण जिम्मेवारीबाट आएकाहरु भएपनि खतिवडा भने सिधै पार्टी संगठनबाटै स्थापित नेता हुन् । उनले प्रवक्ताका लागि तीब्र लबिइङ गरिरहेको बुझिएको छ ।

कांग्रेसमा प्रवक्तालाई पदाधिकारी सरह मानिन्छ । पदाधिकारी बैठकमा सहभागी हुने र पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागिता हुने भएकाले कांग्रेसभित्र प्रवक्ता पदप्रति धेरैको आकर्षण रहेको मानिन्छ । पार्टीका निर्णय वा आधिकारीक धारणा सार्वजनिक गर्ने पद भएकाले पनि प्रवक्ता भएपछि पार्टीभित्र र बाहिर स्थापित हुन सहज हुने विश्वास कांग्रेस नेताहरुको छ ।

Facebook Comments