कांग्रेस १४औं महाधिवेशनः देउवाको नेतृत्वमा मूल समिति, सातै प्रदेशमा तोकिए प्रदेश संयोजक

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति बनाएको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको हो । कांग्रेसले सभापति देउवाकै नेतृत्वमा मूल समिति बनाएको छ ।

देउवा नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् । यसैगरी, विधानले व्यवस्था गरेको नयाँ संरचनाअन्तर्गत प्रदेश तहको संरचनाको अधिवेशनका लागि कांग्रेसले सातै प्रदेशमा केन्द्रीय संयोजकसमेत तोकेको छ ।

कांग्रेसले सातै प्रदेशको प्रदेश तहको अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित प्रदेशमा संयोजक तोकेको हो । केन्द्रीय सदस्य नेता मीन विश्वकर्माका अनुसार प्रदेश १ को संयोजकमा नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । यस्तै, प्रदेश २ को संयोजक रमेश रिजाललाई बनाइएको छ ।

यसैगरी, बाग्मती प्रदेशको संयोजकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेश संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजमा दिलेन्द्रप्रसाद बडु तोकिएका छन् ।

कांग्रेसले महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवास समितिको जिम्मा नेता सुरेन्द्रराज पाण्डेलाई दिएको छ ।

यसैगरी, सहमहामन्त्री डा. प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी तोकिएको छ । यस्तै, प्रचारप्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएको छ ।

स्वास्थ्य क्षेत्रको उपसमितिको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ भने उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरुङलाई दिएको छ ।

यस्तै, महाधिवेशनको मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहनेगरी समिति बनाइएको छ । राजधानी दैनिकमा खबर छ ।

कुन प्रदेशमा को भए संयोजक ?
प्रदेश १ कृष्णप्रसाद सिटौला
प्रदेश २ रमेश रिजाल
बाग्मती प्रदेश प्रकाशमान सिंह
गण्डकी प्रदेश गोपालमान श्रेष्ठ
लुम्बिनी प्रदेश बालकृष्ण खाण
कर्णाली प्रदेश जीवनबहादुर शाही
सुदूरपश्चिम प्रदेश दिलेन्द्रप्रसाद बडु

Facebook Comments