अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

सिन्धुली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अहिलेको तालिका कसैले चाहेर पनि सार्न नसक्ने बताएका छन्। उनले समयमै महाधिवेशन गर्न नसके पार्टी वैधानिक रुपमा नै संकटमा पर्ने उल्लेख गर्दै पार्टीको अस्तित्व जोगाउन कुनै हालतमा तोकिएको समयमा महाधिवेशन गर्नु पर्ने धारण राखेका हुन्।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालको आमाको निधनप्रति दुःख व्यक्त गर्न सोमबार सिन्धुलीको रानीबासमा आएका नेता थापाले महाधिवेशन सकेर पुसको पहिलो साताभित्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने उल्लेख गरे।

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै सिन्धुली आइपुगेका थापाले भने, ‘१३ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारीलाई अब निर्वाचन आयोगले चिन्दैन, मान्दैन। यो अवस्थामा अब कुनै पनि बहानामा महाधिवेशनको मिति सर्दैन।’

अधिवेशन कसैलाई तिक्तता नबढाउने खालको हुनेपर्ने उनको भनाई थियो। अर्को प्रसंगमा नेता थापाले आगामी निर्वाचनमा कांग्रेसको कसैसँग पनि गठबन्धन नगरी लड्ने उल्लेख गर्दै कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न निर्देशन समेत दिए। ‘अबको निर्वाचन कोही कसैसँग मिलेर लडिँदैन। हामी कसैसँग गठबन्धन गर्दैनौ।

नेपाली कांग्रेसका मतदाताले रुख चिन्हबाहेक अरु चिन्हमा मत हाल्नु पर्दैन तपाईहरु ढुक्कका साथ अब चुनाव केन्द्रित भएर लाग्नु होला,’ उनले भने। उनले थपे, ‘वैशाखमा स्थानीय तहको चुनाब हुन्छ। मंसिरमा आमनिर्वाचन हुन्छ। महाधिवेशन सकिएको भोलिपल्ट झण्डा उठाएर स्थानीय चुनावमा लाग्नुपर्ने हुन्छ।’

थापाले अहिलेको सरकारले संविधानलाई ट्रयाकमा राख्ने, कोभिडबाट थला परेका नागरिकलाई राहत दिने र चुनाव गराउने काम गर्ने बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.